दशक लामो जनयुद्ध नेपाली राजनीतिक इतिहासको मात्र होइन, सामाजिक चेतनाको पनि गहिरो रुपान्तरण थियो। त्यो युद्ध केवल राज्य सत्ताको लागि गरिएको सत्ता–प्रतिस्पर्धा थिएन, बरु एउटा यस्तो जनआन्दोलन थियो जसले देशको वर्ग, जात, लिङ्ग र समुदायबीचको असमानता तोड्ने साहसिक प्रयास गर्यो।
अहिले केही मान्छेहरुले भन्छन्, माओवादीले सत्ता पल्टाउन दश वर्ष लगायो, हामीले एक दिनमै पल्टायौं। तर माओवादीले जुन सत्ता पल्टाउन खोजेको थियो, त्यो केवल सिँहदरबारको सत्ताको कुर्सी होइन, शताब्दीयौँदेखि जरा गाडेर बसेको वर्गीय, जातीय र लैङ्गिक असमानताको शासन थियो। त्यो असमानताका जरा उखेलेर नयाँ सामाजिक संरचना बनाउन जनयुद्धको मुद्धा केन्द्रित थियो।
माओवादी आन्दोलनले देशभरका गरिब किसान, श्रमिक, दलित, जनजाति र महिलाहरूलाई मात्र एकताबद्ध गरेन, उनीहरूमा राजनीतिक चेतना र अधिकारको भावना जगायो। जनयुद्धका क्रममा पहिलो पटक गाउँगाउँका चुलोचौकामा सीमित महिलाले बन्दुक बोकेर जनमुक्ति सेनामा जिम्मेवारी सम्हाले। सदियौँदेखि दोस्रो दर्जाको नागरिक ठानिएका दलितहरूले हामी पनि यो देशका बराबरी नागरिक हौं भनेर मुख खोले।
यदि माओवादीको उद्देश्य केवल प्रधानमन्त्री बन्ने वा सत्ता कब्जा गर्ने मात्र हुन्थ्यो भने आधुनिक हतियार र तालिम प्राप्त जनमुक्ति सेनाले त्यस बेलै सत्ताको सिंहासन ढाल्न सक्थ्यो। तर माओवादी नेतृत्वले त्यसो गरेन — उसले जनतालाई तयार पार्न खोज्यो, चेतना फैलाउन खोज्यो। जनयुद्धले देशभरका लाखौं जनतालाई अधिकार र समानताको परिभाषा सिकायो।
आजको गणतान्त्रिक नेपाल, जहाँ हरेक नागरिक बोल्न सक्छ, प्रश्न गर्न सक्छ, र आफ्नो मत राख्न सक्छ — त्यो सम्भव माओवादी आन्दोलनकै जगमा भएको हो। राजतन्त्रको अन्त्य, संघीयता, समावेशी संविधान, र महिलादेखि दलितसम्मको प्रतिनिधित्व — यी उपलब्धिहरू जनयुद्धका बलिदानीहरूको रगतले लेखिएका इतिहास हुन्।
तर अहिलेका केही आन्दोलनहरू "अब हाम्रो पालो" भन्ने मानसिकतामा सीमित छन्। तिनीहरूमा न विचारको गहिराइ छ, न आन्दोलनको उद्देश्य। जो जहाँ जसका विरुद्ध रिस उठ्छ, त्यहीँ तोडफोड र आगजनी गरेर विद्रोहको नाममा नारा लगाइन्छ। त्यस्ता प्रवृत्तिहरूले क्रान्ति आन्दोलनको अर्थ नै कमजोर बनाइरहेका छन्।
जनयुद्धको मूल भावना देश परिवर्तनको थियो — व्यक्तिको बदला होइन, संरचनाको सुधार थियो। त्यही चेतनालाई बुझ्न र जीवित राख्न सक्नु नै आजको पुस्ताको जिम्मेवारी हो। जनयुद्धले ल्याएको यो चेतना नै देशलाई गणतन्त्रसम्म ल्याउने वास्तविक शक्ति हो। अन्त्यमा, व्यापक जनआन्दोलन तयार गर्न दशक लाग्छ। लुटपाट र आगजनी गर्न मात्रै केही घण्टा।
✒️दिपक क्षेत्रि