काठमाडौं ,कार्तिक १९-ठूलो पूर्णिमाको रूपमा मानिने कात्तिक पूर्णिमाका दिन नेवाः जातिले मनाउने सकिमिला (सकिमना) पून्ही पनि एक बौद्ध चाड हो । “सकिमिला” शब्दको अर्थ “सक्य” (बुद्धको कुल "शाक्य") + “मिला/मना” (चन्द्रमाको दिन वा पूर्णिमा), अर्थात् शाक्यमुनि बुद्धसँग सम्बन्धित पूर्णिमा ।
यश दिन बुद्धको जन्म, ज्ञान प्राप्ति र परिनिर्वाणको स्मरण पनि गरिन्छ । यद्यपि त्यो वैशाख पूर्णिमामा व्यापक रूपमा मनाइन्छ, यो दिन बुद्ध शिक्षाको पुनःस्मरण र करुणाको अभ्यासको प्रतीकात्मक उत्सव पनि हो ।
आजको दिन पिँडालु र सखरखण्ड उसिनेर वा पोलेर साथै मकै,भटमास, केराउ, बकुला आदि विभिन्न गेडागुडीहरू भुटेर खाने गरिन्छ । यसरी भुटेर बनाइएको विभिन्न प्रकारको गेडागुडीको मिश्रणलाई हलिमलि भनिन्छ । यसैकारण यसलाई हलिमलि पून्हि पनि भनिन्छ ।
यस दिन विभिन्न मठमन्दिर, बहाः-बहिः, चैत्य, स्तूपअगाडि भुटेका गेडागुडी र अन्नहरूका विभिन्न कलाकृति बनाई प्रदर्शन गर्ने गरिन्छ ।
✒️:पुस्पराज रन्जितकार