भण्डारीको दुई गोलमा भारतमाथि नेपालको २-१ को शानदार जित

sidhasamachar.com


अक्टोबर २७- भारतको शिलङस्थित जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्री फुटबल शृंखला २०२५ को अन्तिम खेलमा नेपालले भारतलाई २–१ ले पराजित गर्दै शानदार जित हात पारेको छ।

नेपालका लागि स्टार स्ट्राइकर सबित्रा भण्डारी निर्णायक खेलकी नायिका बनिन्। उनले खेलको सुरुवातमै दोस्रो मिनेटमा लामो पासलाई उपयोग गर्दै भारतीय गोलरक्षक पन्थोई चानु इलाङबामलाई छलाउँदै पहिलो गोल गरिन्।

भारतले बराबरी फर्काउने प्रयास गरे पनि नेपालको बलियो रक्षात्मक पंक्तिले पहिलो हाफमा कुनै अवसर नदियो। दोस्रो हाफमा पनि नेपाली आक्रमणको गति घटेन, जसको फलस्वरूप भण्डारीले ६३औं मिनेटमा दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाइन्।


भारतले खेलको अन्तिम चरणमा ८१औं मिनेटमा करिश्मा शिर्भोइकरको गोलबाट एक गोल फर्काए पनि बराबरी गर्न सकेन। अन्ततः खेल नेपालले २–१ को अन्तरले जित्दै प्रतियोगिता प्रभावशाली ढंगले सम्पन्न गर्‍यो।

यो जितले नेपाली महिला फुटबलको आत्मविश्वास थप उच्च बनाएको छ। सबित्रा भण्डारीको ‘ब्रेन’ प्रदर्शनले नेपाललाई पुनः दक्षिण एसियाली फुटबलमा एक बलियो प्रतिस्पर्धीको रूपमा स्थापित गरेको छ।


प्रतिक्रिया