नेपालले सामोलाई १२४ रनले पराजित गर्दै उपाधि हात पार्‍यो, टुर्नामेन्टभर अपराजित रह्यो

sidhasamachar.com


अल अमेरात (ओमान), असोज ३१ — नेपालले शुक्रबार ओमानको अल अमेरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा सम्पन्न आईसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एशिया–प्रशान्त (EAP) क्वालिफायर सुपर सिक्स चरणको अन्तिम खेलमा सामोलाई १२४ रनले पराजित गर्दै उपाधि जितेको छ। यस जितसँगै नेपालले टुर्नामेन्टभर अपराजित रहँदै क्षेत्रीय क्रिकेटमा आफ्नो दबदबा कायम राख्न सफल भयो।

नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। बलियो प्रदर्शनका साथ नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रनको विशाल योगफल बनायो। जवाफमा सामोआको टोलीले २० ओभरमा ७ विकेटको क्षतिमा जम्मा ८७ रन मात्र बनाउन सक्यो।

सामोआका ब्याटरहरू नेपाली बलिङ अगाडि पूर्ण रूपमा संघर्षरत देखिए। सामोआका एस. सोल्या मात्र केही हदसम्म टिके, जसले ३७ बलमा ४० रन बनाएर प्रतिरोध जनाए। अन्य ब्याटरहरू भने नेपाली बलरहरूको उत्कृष्ट बलिङ अगाडि क्रमशः ढले। डी. भिस्सर १० बलमा ४ रन बनाएर करण केसीको बलमा एलबिडब्ल्यू भए। बी. माइलाटा ११ रनमा ललित राजवंशीको क्याच एन्ड बोल्डमा परे। एस. नाश ३ रनमा ललितकै बलमा बोल्ड भए। एस. सोला ९ रनमा सन्दीप लामिछानेको बलमा एलबिडब्ल्यू भए। कप्तान सी. जस्मत ९ रनमा रोहित पौडेलको सब-क्याचमा आउट भए। एफ. सुलुलोटो ७ रनमा करण केसीको उत्कृष्ट थ्रोबाट रनआउट भए।

सामोआले जम्मा दुई एक्स्ट्रा रन (१ वाइड, १ लेग बाई) पायो र २० ओभर पूरा गर्दा ८७ रनमै सीमित रह्यो।

नेपालका बलरहरू मध्ये ललित राजवंशी र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। राजवंशीले तीन विकेट लिए भने सन्दीपले दुई विकेट झारे। करण केसीले पनि एक विकेट लिए र रनआउटमा सिधा थ्रो दिएर टोलीलाई थप फाइदा दिलाए।

यसअघि नै नेपालले २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपका लागि छनोट सुनिश्चित गरिसकेको थियो। यस जितसँगै नेपालले क्वालिफायरको उपाधि पनि आफ्नो पोल्टामा राख्दै अपराजित अभियान पूरा गर्‍यो।

नेपालका समर्थकहरूका लागि यो जित ऐतिहासिक सावित भएको छ। टुर्नामेन्टभर उत्कृष्ट समन्वय, ब्याटिङ र बलिङ प्रदर्शनका कारण नेपालले विश्व क्रिकेटमा आफ्नो स्तर झनै मजबुत बनाएको छ। अब सबैको ध्यान २०२६ को विश्वकपमा नेपालले कस्तो प्रदर्शन गर्छ भन्नेमा केन्द्रित छ।

नेपालको यो प्रदर्शनले स्पष्ट गरेको छ — अब नेपाल विश्वकपमा केवल सहभागी होइन, एक सशक्त प्रतिस्पर्धीको रूपमा मैदानमा उत्रिने तयारीमा छ।


प्रतिक्रिया