काठमाडौं , कात्तिक ६— आज यम पञ्चकको अन्तिम तथा पाँचौं दिन भाइटिका देशभर हर्षोल्लासका साथ मनाइँदैछ। हिन्दू परम्परा अनुसार यो दिन दिदीबहिनीले दाजुभाइलाई पञ्चरङ्गी टीका र मखमली फूलको माला लगाएर दीर्घायु, समृद्धि र अकाल मृत्युबाट रक्षा होस् भनी आशीर्वाद दिने दिन हो।
धार्मिक विश्वासअनुसार, प्राचीन समयमा यमुनाले आफ्ना दाजु यमराजलाई आजकै दिन टीका लगाई स्नेह र सम्मान व्यक्त गरेकी थिइन्। त्यसै समयदेखि दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने परम्परा सुरु भएको जनविश्वास छ। दिदीबहिनीको हातबाट टीका लगाउँदा अकाल मृत्यु टर्ने, र भाइबहिनीबीचको सम्बन्ध अझ बलियो हुने विश्वास गरिन्छ।
दाजुभाइ वा दिदीबहिनी नभएकाहरूका लागि पनि यो पर्व विशेष महत्व राख्छ। उनीहरूले आज काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गई दर्शन गर्ने परम्परा पुरानो कालदेखि चल्दै आएको छ। यो मन्दिर वर्षमा केवल एकपटक — आजको दिन — सर्वसाधारणका लागि खुल्ने भएकाले बिहानैदेखि भक्तजनहरूको भीड लाग्ने गर्छ।
यसैगरी, नेवा: समुदायमा यो पर्वलाई किजा पूजाका रूपमा मनाइन्छ। नेवारी परम्पराअनुसार, दिदीबहिनीले दाजुभाइलाई विशेष पूजा गरी प्रसाद, उपहार र मिठा परिकारसहित भोज आयोजना गर्छन्। दाजुभाइले पनि उपहार र स्नेहसहित दिदीबहिनीको सम्मान फर्काउने चलन छ।
आज घर–घरमा दिदीबहिनीहरूले पञ्चरङ्गी टीका र मखमली फूलको माला लगाई दाजुभाइको दीर्घ जीवन र सुखसमृद्धिको कामना गर्दैछन् भने दाजुभाइहरूले पनि स्नेह, उपहार र शुभकामनाले प्रत्युत्तर दिइरहेका छन्।
भाइटिका केवल धार्मिक अनुष्ठान होइन, यो पारिवारिक प्रेम, आपसी सम्बन्ध र संस्कृतिको सुन्दर प्रतीक हो, जसले दिदीबहिनी र दाजुभाइबीचको आत्मीय सम्बन्धलाई अझ दृढ बनाउने विश्वास लिइन्छ।