सन्दर्भ :अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस!

sidhasamachar.com


​प्रत्येक वर्ष डिसेम्बर २ लाई विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवसका रूपमा मनाइन्छ। संयुक्त राष्ट्रसंघले विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्ने उद्देश्यका साथ यो दिवस मनाउन आह्वान गरेको हो। आजको आधुनिक र सभ्य भनिएको समाजमा समेत दासताका परिवर्तित स्वरूप र नयाँ आयामहरूले चुनौती थपेका छन्। मानव इतिहासमा दासताको प्रथा निकै पुरानो छ; प्राचीन सभ्यताहरूदेखि मध्यकालसम्म विभिन्न रूपमा यो प्रचलनमा थियो, जसमा मानिसलाई व्यक्तिगत सम्पत्तिको रूपमा किनबेच गरिन्थ्यो। १६औँ शताब्दीदेखि १९औँ शताब्दीसम्म युरोपेली उपनिवेशवादले अफ्रिकी नागरिकहरूलाई जबरजस्ती अमेरिका तथा अन्य उपनिवेशहरूमा लगेर दास बनाएको क्रूर इतिहास विश्वसामु छ। यसको अन्त्यका लागि विश्वव्यापी प्रयासहरू भए, जसको फलस्वरूप सन् १९२६ मा 'लिग अफ नेसन्स' र पछि संयुक्त राष्ट्रसंघको पहलमा औपचारिक रूपमा दासत्व प्रथा अन्त्य गर्ने प्रयासहरूले मूर्त रूप लिए। यद्यपि, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को पछिल्लो तथ्याङ्कअनुसार, आधुनिक समयमा पनि विश्वभर ४ करोडभन्दा बढी मानिसहरू 'आधुनिक दासता'को सिकार भइरहेका छन्।

​नेपाल पनि दासप्रथाबाट अछुतो थिएन। यहाँ शताब्दीयौँदेखि दास राख्ने र किनबेच गर्ने चलन थियो। नेपालमा वि.सं. १९८१ मंसिर २४ गते (सन् १९२४) मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जङ्गबहादुर राणाले दास प्रथा उन्मुलनको घोषणा गरेका थिए र वि.सं. १९८३ वैशाख १ गतेदेखि लागू भएको थियो। चन्द्रशमशेरले पुरातन दासप्रथा उन्मूलन गरे पनि नेपालमा यसको अवशेषहरू विभिन्न सामाजिक प्रथाका रूपमा लामो समयसम्म कायम रहेका थिए। कमैया प्रथा, हलिया प्रथा, र कमलरी प्रथा यसका प्रमुख उदाहरण हुन्। सरकारद्वारा २०५७ साउन २ गते कमैया प्रथा र २०६५ भदौ २१ गते हलिया प्रथा उन्मूलन गरिए पनि मुक्त भएका परिवारहरूको पुनर्वास र जीवनस्तरमा अपेक्षित परिवर्तन आउन अझै बाँकी छ।

​कानुनी रूपमा नेपालबाट पुरातन दासताको अन्त्य भए पनि वर्तमान समाजमा दासताले नयाँ र अदृश्य स्वरूप लिएको छ, जुन अझ जटिल र चुनौतीपूर्ण बनेको छ। गरिबी, बेरोजगारी र चेतनाको कमीको फाइदा उठाउँदै नेपाली चेलीबेटीहरूलाई ललाईफकाई वा जबरजस्ती भारत तथा अन्य मुलुकमा लगेर यौनधन्दामा लगाउने कार्य आधुनिक दासताको प्रमुख स्वरूप हो, जसलाई मानव बेचबिखन भनिन्छ। आकर्षक तलबको प्रलोभनमा ठूलो रकम तिरेर वैदेशिक रोजगारीमा जाने नेपालीहरू विदेशमा न्यूनतम ज्याला, लामो कामको समय र अमानवीय व्यवहार सहेर मालिकहरूको अधीनमा बस्न बाध्य छन्, जुन एक प्रकारको आधुनिक दासता हो। यसका अतिरिक्त, घरेलु कामदारलाई न्यूनतम ज्याला दिएर दिनभर कडा परिश्रममा लगाउने, बालश्रममा लगाउने, र इँट्टाभट्टा तथा गलैँचा उद्योगजस्ता क्षेत्रमा हुने शोषण दासताकै नयाँ रूप हुन्।

​नेपाल लगायत विश्वभर दासताका यी नयाँ स्वरुपहरू उन्मूलन गर्न केवल कानुनी घोषणा पर्याप्त छैन। आधुनिक दासताको जरो गरिबी, अशिक्षा र संरचनागत शोषणमा रहेकोले यसको समाधानका लागि सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायको साझा प्रयास आवश्यक छ। दासताका हरेक स्वरूपबारे जनचेतना फैलाउनु, परिवर्तनकारी शिक्षा प्रदान गर्नु, मानव बेचबिखन तथा शोषणविरुद्धका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुका साथै मुक्त कमलरी, हलिया र वैदेशिक रोजगारीका पीडितहरूलाई उचित पुनर्वास, शिक्षा र रोजगारीको व्यवस्था गर्नु राज्यको दायित्व हो। अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवसको सन्दर्भमा, हामी सबैले मानवअधिकारको सुनिश्चितता गर्दै कसैलाई पनि शोषणको सिकार हुन नदिन प्रतिबद्ध हुनु आवश्यक छ।

प्रतिक्रिया