आज विजया दशमी, टीका साइत बिहान ११:५३ बजे!

sidhasamachar.com


काठमाडौं , असोज १६ -  आज विजयादशमी अर्थात् दशैंको दशौं दिन, देवी शक्तिको पूजाअर्चना गरी टीका तथा जमरा लगाइने परम्परा अनुसार टीका थाप्ने साइत बिहान ११:५३ बजे उत्तम मानिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार विजया दशमीको मुख्य साइत यही समयमा रहेको भए पनि श्रद्धालुहरूले भने बिहानैदेखि मातापिता, गुरुजन र ज्येष्ठ सदस्यहरूबाट टीका तथा जमरा थाप्न थालिसकेका छन्।

दशैंको टीका दिने परम्परा महिषासुरमर्दिनी देवी दुर्गाले आसुरिक शक्तिमाथि विजय प्राप्त गरेको स्मरणार्थ मनाइन्छ। घर–घरमा राखिएको जमरा देवी भगवतीको प्रसाद मानिने गरिन्छ। जमरा टीकासँगै थाप्दा शुभता, समृद्धि र दीर्घायु प्राप्त हुने विश्वास छ।

आजको दिनमा आफन्तजन, नातागोता, छरछिमेकसँग टीका थापेर आशिष लिने–दिने चलनले पारिवारिक र सामाजिक एकता अझ मजबुत बनाउने मान्यता छ। टीका थाप्दा दिर्घायु, स्वास्थ्य, शान्ति र समृद्धिको कामना गरिन्छ।

काठमाडौं उपत्यकासहित देशभर विहानैदेखि टीका–जमरा थाप्ने क्रम सुरु भएको छ। धेरैले भने साइतको समयमा टीका थाप्न पर्खिने गरेका छन्। यस अवसरमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न संस्थाहरूले देशवासीलाइ शुभकामना सन्देश दिएका छन्।

यसरी विजयादशमीको टीका आज बिहान ११:५३ बजे उत्तम मानिए पनि धार्मिक आस्था र परिवारिक परम्परा अनुसार जुनसुकै समयमा पनि टीका थाप्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्पष्ट पारेको छ।


प्रतिक्रिया