एसईई केही दिन सर्ने सङ्केत!

sidhasamachar.com

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) केही दिन सर्न सक्ने संकेत देखिएको छ। यसअघि सार्वजनिक गरिएको तालिकाअनुसार परीक्षा चैत्रको पहिलो हप्तामा गर्ने तयारी रहे पनि प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण तयारी प्रभावित भएपछि राष्ट्रिय परीक्षा बोर्डले समय समायोजनबारे छलफल अघि बढाएको हो।

बोर्ड स्रोतका अनुसार निर्वाचन कार्यतालिकाले प्रश्नपत्र छपाइ, उत्तरपुस्तिका व्यवस्थापन तथा परीक्षा सञ्चालनको तयारीमा असर पारेको छ। यही कारणले चैत्रको पहिलो हप्ताभित्रै परीक्षा गराउने लक्ष्य कायम राख्दै केही दिन तलमाथि हुन सक्ने अवस्था देखिएको जनाइएको छ।

बोर्डले परीक्षा रद्द नहुने स्पष्ट पारेको छ। विद्यार्थीको शैक्षिक भविष्य प्रभावित नहुने गरी छोटो समयका लागि मात्र मिति समायोजन गर्नुपर्ने अवस्था आएको बताइएको छ।

प्रश्नपत्र छपाइ जनक शिक्षा सामग्री केन्द्रमार्फत भइरहेको छ भने परीक्षा केन्द्र व्यवस्थापन, सुरक्षा तथा जनशक्ति परिचालनका विषयमा सरकार र निर्वाचन आयोगसँग समन्वय जारी रहेको बोर्डले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको अन्तिम मिति र अद्यावधिक तालिका चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ। त्यसअघिसम्म विद्यार्थी र अभिभावकलाई अफवाहमा नपरी आधिकारिक सूचनाको प्रतीक्षा गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया