नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

sidhasamachar.com

काठमाडौँ , असोज ५-  नेपाल विद्युत प्राधिकरणको कार्यकारी  निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन् । लामो समयदेखि प्राधिकरणमा कार्यरत रहेका सिलवाल हालसम्म उप–प्रबन्ध निर्देशकको भूमिकामा रहँदै आएका थिए । नेपाल सरकारको ऊर्जासम्बन्धी मुख्य निकायका रूपमा रहेको विद्युत प्राधिकरणमा उनले नेतृत्व पाउने भएपछि संस्थागत सुधार, परियोजना व्यवस्थापन र ऊर्जा विस्तारमा थप गतिशीलता आउने अपेक्षा गरिएको छ।

सिलवाल हालसम्म प्राधिकरणको प्रोजेक्ट म्यानेजमेन्ट निर्देशनालयको नेतृत्व गरिरहेका थिए, जहाँ उनले एशियाली विकास बैंक (एडिबी) सहयोगमा सञ्चालन भइरहेका परियोजनाहरूको जिम्मेवारी सम्हालेका थिए । उनकाे नेतृत्वमा ती परियोजनाहरूलाई व्यवस्थित र परिणाममुखी बनाउन महत्वपूर्ण योगदान पुगेको प्राधिकरणका अधिकारीहरूले बताएका छन्।

शैक्षिक पृष्ठभूमिको कुरा गर्दा उनले नेपाल इञ्जिनियरिङ इन्स्टिच्युट (IOE) बाट पावर सिस्टम इन्जिनियरिङमा स्नातकोत्तर (M.Sc.) र काठमाडौ विश्वविद्यालयबाट विद्युत तथा इलेक्ट्रोनिक इन्जिनियरिङमा स्नातक (B.Sc.) गरेका छन्।

झन्डै ३० वर्षको अनुभव बोकेका सिलवालले जलविद्युत् विकासदेखि लिएर प्रशारण लाइन विस्तारसम्मका काममा संलग्न रहँदै आएका छन् । खासगरी उनले नेपालमै मात्र नभई न्यूजिल्याण्डको निजी क्षेत्रमा पनि काम गरेर अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका छन्।

उनको नियुक्तिलाई प्राधिकरणभित्र र बाहिरका ऊर्जा विशेषज्ञहरूले स्वागत गरेका छन्। ऊर्जा क्षेत्रमा दीर्घ अनुभव, प्राविधिक दक्षता र अन्तर्राष्ट्रिय ज्ञान बोकेका सिलवालको नेतृत्वमा आगामी दिनमा जलविद्युत् उत्पादन, प्रशारण तथा वितरण प्रणालीमा नयाँ उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।

नेपाल विद्युत प्राधिकरणले हाल देशलाई ऊर्जा आत्मनिर्भर बनाउने लक्ष्यसहित विभिन्न परियोजनाहरू अघि बढाइरहेको छ। सिलवालको कार्यकालमा यी परियोजनाहरू अझ प्रभावकारी रूपमा अघि बढ्ने प्राधिकरणले विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया