काठमाडौं, भदौ २२–नेपालका युवाहरू, विशेषगरी सन् १९९७ देखि २०१२ सम्म जन्मिएका Gen Z पुस्ता, भोलि (२०८२ भदौ २३) माइतीघर मण्डलामा ठूलो स्फुर्त आन्दोलनमा उत्रिने भएका छन्। भ्रष्टाचार, नेताहरूको अकर्मण्यता, र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी कदमविरुद्ध युवाहरूले सडक तताउने तयारी गरेका हुन्।
हालै टिकटकमा सुरु भएको ‘नेपो बेबी’ ट्रेन्डले यस आन्दोलनलाई थप उचाइमा पुर्याएको छ। यस ट्रेन्डमार्फत युवाहरूले उच्चपदस्थ राजनीतिक नेताका छोराछोरीको ऐशआराम र मोजमस्तीपूर्ण जीवनशैलीलाई खुला रूपमा उजागर गरिरहेका छन्। “जनताको पसिनाको कर खाएर नेताका सन्तानले रमाइलो गर्ने, अनि आम युवालाई सामाजिक सञ्जाल बन्द गरेर चुप लगाउने खेल अब चल्दैन,” भनेर एक जना युवाले टिकटकमा आक्रोश पोखेका छन्।
युवाहरूको यो आक्रोशमा काठमाडौं महानगर प्रमुख बालेन शाहले समेत समर्थन जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत भ्रष्टाचार र असमानताविरुद्ध युवा पुस्ताले उठाएको आवाजलाई ऐतिहासिक भनिरहेका छन्।
विशेषज्ञहरूका अनुसार यो आन्दोलन सत्तारूढ एमाले–कांग्रेस गठबन्धन सरकारका लागि ठुलो चुनौती बन्न सक्ने देखिएको छ। युवाहरूले राजनीतिक नेतृत्वको बेइमानी मात्र होइन, पुस्तामाथि गरिँदै आएको अन्याय र असमानताप्रति समेत आक्रोश पोख्दै सडकमा उत्रन लागेका हुन्।
भोलिको माइतीघर मण्डलामा हजारौँ युवाको उपस्थिति हुने अनुमान गरिँदैछ। केहीले यसलाई नयाँ पुस्ताको ‘डिजिटल क्रान्ति’ बाट सुरु भएको सडक आन्दोलनका रूपमा व्याख्या गर्न थालेका छन्।