:✍️ सत्यजीत
नेपालमा वामपन्थी आन्दोलनको इतिहास हेर्दा, प्रत्येक ‘एकता’ नयाँ विखण्डनको सुरुवात बन्ने परम्परा जस्तै भइसकेको छ। वर्गीय दृष्टिबिना गरिएको एकता अस्थायी सम्झौता मात्रै ठहरिन्छ, र असन्तुष्टको फूटले पुनः अर्को ध्रुवीकरण जन्माउँछ। यही कारण वाम आन्दोलन निरन्तर ‘एकताको शवयात्रा’ बोकिरहेको छ- जहाँ विचारभन्दा व्यक्तित्व ठूलो, र वर्गीय स्वार्थभन्दा सत्ताको लोभ बलियो छ।
माओवादी आन्दोलनको विभाजन त्यसको ज्वलन्त उदाहरण हो। प्रचण्डबाट फुटेका दर्जनौं समूह आज आफ्नै सानो सर्कलभित्र कैद छन्। वैद्य, विप्लव, आहुतीदेखि नयाँ पुस्तासम्म- सबैले ‘सही लाइन’को दाबी गरे पनि व्यवहारमा श्रमजीवी वर्गको संघर्षभन्दा पद, परिचय र प्रभावको होडमा हराएका छन्। विप्लव समूह पनि लामो भूमिगत संघर्षपछि ‘शान्ति र उत्पादन अभियान’को नाममा विचलनमा फसेको आरोपबाट अछुतो छैन। पार्टीभित्र धर्मेन्द्र बास्तोला, चिरनलगायतका असन्तुष्ट समूह अलग्यिएका छन्।
एमालेको इतिहास पनि फरक छैन। एकता-फूट-पुनःएकता-त्योचक्र बारम्बार दोहोरिन्छ। ओली, सीपी, ऋषि कट्टेल, माधव, झलनाथदेखि घनश्याम, युवराज, भीम र गोकर्णसम्म-सबैले ‘जनताको पक्ष’ बोल्ने गर्छन्, तर संगठनलाई व्यक्तिगत सत्ता-केन्द्र बनाउने रोग उस्तै छ। आज एमालेबाट धेरै धार छुट्टिइसकेका छन्-तर सबैको भाषणमा ‘वर्गसंघर्ष’ हुन्छ, कार्यभारमा ‘कुराकानी र क्याडर व्यवस्थापन’।
रेशम चौधरीको थारू आन्दोलनबाट उदाएको पार्टी पनि त्यही नियतिबाट जोगिन सकेको छैन। श्रीमान र श्रीमतीले छुट्टाछुट्टै पार्टी बनाएपछि जनताभन्दा पदको महत्व प्रष्ट देखिन्छ। वैद्यबाट फुटेका करिब एक दर्जन समूह, विप्लवबाट डेढदर्जन, प्रचण्डको सत्ताधारी धाराबाट दर्जनौं झुण्ड-यी सबैले वाम एकतालाई शवयात्रामा रूपान्तरण गरेका छन्।
वामपन्थी आन्दोलनको यस्तो अवस्था केवल वैचारिक विचलन होइन, यो ‘जनशास्त्रीय’ रोग हो- जहाँ वर्गीय सचेतना सत्ताको रोटीमा बेकफास्टको सजावट बन्न पुगेको छ। मार्क्सले भनेका थिए-“वर्गसंघर्ष बिना समाज परिवर्तन सम्भव छैन।” तर आजका वाम नेताहरू वर्गसंघर्ष होइन, वर्ग-सम्झौताको भाषामा बोल्छन्। माओले चेतावनी दिएका थिए-“विचार बिना एकता पानीमा अक्षर लेख्नु हो।” तर यही भ्रमले नेपाली वाम आन्दोलन बारम्बार पुनर्जीवित शवझैँ उठ्दै, पुनः मर्दै आएको छ।
सत्ताको लालसाले जनताको भरोसा खोस्दैछ। पार्टी एकताको हल्ला मिडिया शोमा सीमित हुन्छ, र फूटको जिम्मेवारी ‘अन्य पक्ष’मा सारिन्छ। वर्गीय मूल्य, उत्पादन र श्रमको सम्मान गर्ने संस्कृति हराउँदै गएको छ। उत्पादन अभियानमा विप्लव समूहले ल्याएको प्रयोग सकारात्मक हुनसक्थ्यो, तर त्यो पनि लामो अवधिको राजनीतिक अनिश्चितता र संगठनात्मक फुटले क्षीण बनायो।
नेपालमा वामपन्थीहरूको फूट केवल व्यक्तिहरूको अहंकार होइन, विचारधाराको अधोगति हो। जब नेतृत्व सर्वहारा वर्गभन्दा माथि ठानिन्छ, आन्दोलन मर्छ। जब आलोचना र आत्म-आलोचना बन्द हुन्छ, प्रतिक्रान्ति जन्मिन्छ। जब धर्म, पूँजी र सत्ता-लोभले क्रान्तिलाई निगल्छ, तब जनताको पार्टी जनताबाट टाढा जान थाल्छ।
आज आवश्यक छ- ‘नयाँ एकता’ होइन, ‘नयाँ चेतना’। वर्गीय दृष्टि, श्रमको सम्मान, र सर्वहारा अधिनायकत्वमा आधारित एकता मात्र स्थायी हुन सक्छ। अन्यथा, प्रत्येक नयाँ घोषणापत्र अर्को शवयात्राको निमन्त्रणा हुनेछ।