निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका प्रकाशित

sidhasamachar.com


काठमाडौं ,पुस २५- निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले आज सूचना जारी गर्दै उम्मेदवार मनोनयनदेखि मतदानसम्मका सबै चरणको मिति र समय तोकेको हो।

प्रकाशित कार्यतालिकाअनुसार प्रतिनिधि सभा सदस्यका उम्मेदवारको मनोनयन दर्ता २०८२ साल माघ ६ गते बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। सोही दिन मनोनयन दर्ता सम्पन्न भएपछि उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

माघ ७ गते उम्मेदवारको नामावलीमाथि उजुरी दर्ता तथा उजुरीमाथि जाँचबुझ गर्ने कार्यक्रम तय गरिएको छ। त्यसै दिन उम्मेदवारको योग्यता सम्बन्धी निर्णयसमेत गरिनेछ। माघ ८ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ भने सोही दिन अन्तिम उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

आयोगका अनुसार माघ ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ। निर्वाचन चिन्ह वितरणसँगै उम्मेदवारहरूले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि औपचारिक रूपमा चुनावी प्रचार–प्रसार गर्न पाउनेछन्।

कार्यतालिकाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान २०८२ साल फागुन २५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। मतदान कार्य तोकिएका मतदान केन्द्रमै सञ्चालन गरिने आयोगले जनाएको छ।

निर्वाचन आयोगले तोकिएको कार्यतालिका कडाइका साथ पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ। आयोगले आचारसंहिता उल्लंघन भए प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया