आज य:मरि पूर्णिमा (य:मरि पुन्हि)

sidhasamachar.com


काठमाडौं ,मङ्सिर १८-नेवार समुदायमा कृषि सम्बन्धी धेरै चाड पर्वहरु हुने गर्दछन । यस मध्य एक य:मरि पूर्णिमा पनि रहेको छ । नेपाल सम्बत अनुसार थिंलाथ्व पुर्णिमा (मार्ग शुक्ल पुर्णिमा) का दिन मनाइने यो पर्वमा विशेष प्रकारको रोटीको भोग गर्ने गर्दछ जसलाई य:मरि भनिन्छ । योमरी खाने दिन भएको कारण यस दिनलाई य:मरि पुर्णिमा भनिएको हो । नयाँ धान भित्र्याएको खुशीयालीमा हर्षोल्लासका साथ यो चाड मनाउँदछ । यसरी भित्र्याइएको नयाँ धानको चामलबाटै य:मरि बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा य:मरि लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ ।  य:मरिलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको य:मरि चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँधेर खाने चलन रहेको छ । साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई य:मरि माग्ने प्रचलन पनि रहेको छ। यो एक प्रकारले देउसी, भैलो जस्तै प्रचलन हो । य:मरि माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई "त्यसिंत्य" भन्ने गरिन्छ । यसरी योमरी माग्न गै सबैको भलोको कामना समेत गर्दछ ।


यस पुर्णिमाका रात सबै भन्दा लामो रातको रुपमा पनि लिइन्छ । यस रातका सुत्न नपुग्ने मान्छेहरुलाई जिन्दगीमा कहिले पनि सुत्न पुग्दैन भन्ने गरिन्छ । यस पुर्णिमाको भोलि पल्ट देखि य:मरिको चुच्चो जति दिन लम्बिन्दै जान्छ भन्ने गरिन्छ । ईस्बी सम्बत अनुसार पनि सबै भन्दा लामो रात December 22 का दिन हो । य:मरि पुर्णिमा पनि लगभग यसैदिन पर्न आउँदछ । य:मरि बनाउदा भित्र चाकु राख्ने गर्दछ । बैज्ञानिक कथन अनुसार जाडो महिनामा चाकु खानाले शरिरमा न्यानोपन बढ्छ जसले रुघाखोकी लाग्न दिन्दैन । यसरी चाकुका साथ मायो, बायो, सुरुजु, त्वयजु पनि राख्ने गर्दछ । य:मरि बिशेषत दुई प्रकारको आकारमा बनाइने गर्दछ । १. लाम्चो आकार २. चेप्टो आकार । 

य:मरि पुर्णिमा बारे एक ऐतिहासिक कथा रहेको छ । जस अनुसार पाञ्चाल देश (हालको पनौती) मा सुचन्द्र महाजन नाम गरेका एक दानी र धर्मात्मा दम्पति बस्दथे उनीहरुको दयालु स्वभाव संसारभर फैलिएको थियो । एक दिन कुबेरलाई सुचन्द्र महाजन दम्पति कतिको दानी रहेछन् भनि बुझ्न मन लागेछ । कुबेरले एक दरिद्र रुप धारण गरी उक्त महाजनको घरमा माग्न पुगेछन् । महाजन दम्पतीले दरिद्र रूपी माग्नेलाई स्वागत सत्कार गरी पकाएर राखेको य:मरि सहित खानेकुरा खुवाउनुको साथै श्रद्धा गरेकाले कुबेर खुसी भै आफ्नो सक्कली रुपको दर्शन दिएछ र ति महाजन दम्पतिलाई य:मरिको गुण र धानको भकारीमा गणेश, कुबेर र तिनका बाहन सहितको प्रतिमा बनाई पूजा गरी योमरि चढाउने विधि बताएर अन्तर्ध्यान भएछन् । त्यस दिन मंसिर शुल्क पूर्णिमा अर्थात् थिंलाथ्व पूर्णिमाको दिन थियो । कुवेरले दिएको महाजन दम्पतिले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको रोटी (य:मरि) बनाई अन्न राख्ने भकारीमा विधिपूर्वक स्थापना गरि ४ दिन सम्म छोपेर राखी पूजा गरेछन् । अनि अन्न, धान र य:मरि दान पनि गरेछन् । भकारीमा चढाएको चार दिनपछि दिइसकेका छोरीचेली समेतलाई माइतमा बोलाइ सपरिवार बसेर योमरि प्रसादका रुपमा बाधेर खाने/ख्वाउने गरिन्छ । योमरि खाएकाले शरीरसमेत हृष्टपुष्ट हुन थालेछ । धन सम्पत्तिको बृद्धि हुन थालेछ र आम्दानी पनि बढ्न थालेछ । विस्तारै यो कुरा जताततै फैलिए । त्यही समयदेखि नेवार समुदायमा य:मरि पूर्णिमाको संस्कृति विकास भएको विज्ञहरु बताउँछन् ।

य:मरि माग्ने जानेबेला गाउने गीत:

त्यछिं तिय

बछि सां तिय

थाबले या समा वल 

य:मरि न्यग तिय

बिउम्ह ल्यासे

मबिउम्ह सितिकुति


त्यछिं तिय

बछि सां तिय

लाटापाटा कुलेचाँ

जुसिं तिय

बिउम्ह ल्यासे

मबिउम्ह बुरिकुती


य:मरि च्वामु

अकि दुने हामु

बिउम्ह ल्यासे

मबिउम्ह बुरिचा


छिमी नं चिकु

जिमि नं चिकु

हामु दु योमरी

याकनं बीउ त्राजु

लेख: GR Ranjit 

फोटो: Ujwol Chandra Buddhacharya

प्रतिक्रिया