तपाईंहरुले कुनै पनि नेवा: बस्ती भित्र, वा जाने बाटो छेउहरुमा तल तस्बिरमा जस्तो ढुंगाको संरचना देख्नुभएको छ? हो, यसैलाई स्थानिय भाषामा जधुँहिती भनिन्छ ! बोलिचालिमा जरुँको नामले पनि चिनिने यसलाई जलद्रोणी भनिन्छ। काठमाडौ उपत्यकाभरी हरेक टोलमा पाटी- पौवा र जरुँ रहेको हुन्छ। समाजमा कुनै बेला अति नै महत्वपूर्ण मानिने यस्ता जरुँहरु, हाल काठमाडौमा केही सिमित ठाउँमा मात्रै बाँकी छन् भने पाटनमा अझै पनि प्रयोगबिहिन अवस्थामा संरक्षित छन्; यस्तै भक्तपुरमा पनि संरक्षित रहेको पाइन्छ। आउनुहोस् जरुँहिति के रहेछ, जानौ !
बाहिरबाट झट्ट हेर्दा, ठूलो ढुंगाको टुक्रा जस्तो देखिने, वास्तवमा यो भित्रबाट कुँदेर खोक्रो बनाइएको हुन्छ। पानी अड्याउने स्थान बनाइएको यस्तो जरुँमा हावाको आवतजावत होस् भनि यसलाई टम्म नढाकिकन, प्वालहरु रहने गरि मिलाएर छोपिएको हुन्छ। आजकलको जमानामा यसलाई तुलना गरि हेर्ने हो भने, यो एक किसिमको पानी जम्मा गर्ने ट्यांकी जस्तै हो भन्दा फरक नपर्ला !जरुँ विशेष गरि बाटोमा हिँड्ने बटुवा तथा टाढाबाट यात्रा वा व्यापारका सिलसिलामा हिँडेका यात्रीहरुको लागि प्यास लाग्दा पानी पिउनको लागि बनाइएको एक विशेष धारा जस्तै हो। जरुँको ठूलो ढुंगाको अग्रभागमा प्वाल रहेको जुन्छ जहाँ काठको बिर्को रहन्छ। कसैलाई प्यास लागेमा सो बिर्को निकाली प्यास मेटिने गरि पानी पिएर फेरि बिर्को हाली आफ्नो गन्तब्यमा जान सकिन्छ।
गाडीहरु नभएको समयमा कुनै निश्चित ठाउँसम्म पुग्न हिँडेरै जाने गरिन्थ्यो। आफ्नो गन्तव्य टाढा भएमा एकै दिन पुग्न सकिन्नथ्यो। सो समयको समाजले यस्ता सामाजिक कुराहरुलाई ध्यानमा राखी बटुवाहरु थकान मार्न फल्चा: ( पाटी) तथा एक रात बास बसि जानका लागि ठाउँ ठाउँमा सत: ( सत्तल) निर्माण गरेका थिए। यसै क्रममा बाटोमा हिँड्दा हरेक ठाउँमा बस्ती नहुने भएकोले एकान्त ठाउँमा प्यास लाग्दा गाह्रो नहोस् भनी विभिन्न स्थानमा जरुँको निर्माण गरेको पाइन्छ। प्राय: जस्तो हरेक सत: भएको स्थानमा नजिकै जरुँ पनि रहेको पाइन्छ। बस्ती भित्र पनि, यात्रा गर्दा नचिनेको घरमा पानी माग्न अप्ठ्यारो हुने तथा, प्राय: मानिसहरु खेतीको लागि खेतमा गइरहने हुनाले बस्ती भित्र पनि विभिन्न स्थानमा जरुँ राखेको देखिन्छ।
यसरी समाजको लागि बनाइएका सत: , फल्चा तथा जरुँहरुको समय समयमा मर्मत संभार गर्ने काम सोही स्थानका विभिन्न गुथिहरुलाई हुन्थ्यो। जरुँहितिहरु विशेष गरि बलौटे ढुंगाबाट निर्माण गरिन्थ्यो र भित्रबाट विशेष लेपन गरिन्थ्यो जसका कारण यसमा चाँडै लेउ लाग्ने हुँदैन र बलौटे ढुंगाबाट बनेका कारण जरुँमा चिस्यान कायम रहन्छ, तसर्थ जरुँको पानी घामले तातो हुँदैन र चिसो रहिरहन्छ। यसरी सरसरती हेर्दा पनि, प्राचीन समयमा समाज कति अग्रसर थियो र कति दुरदर्शी थिए भन्ने कुरा छर्लङ्ग हुन्छ।
जरुँहितिमा पानी भर्नको लागि यसको दायाँ वा बायाँपट्टि एउटा ढुंगा गोलाकारमा हात थापिरहेको जस्तै गरि राखिएको हुन्छ जसबाट यसमा पानी राखिन्छ। यसमा पानी रहिरहनको लागि पनि एउटा परम्परा थियो। कुनै पनि व्यक्तिले धारा, पँधेरो, कुवा आदिमा पानी भरेर फर्किदा बाटोमा यदि जरुँ देखेमा त्यसमा अलिकती पानी खन्याउन पर्ने प्रचलन रहेको थियो। धार्मिक कार्यहरुलाई नाइँनास्ती नगर्ने भएको हुनाले धेरै कुराहरु सो समयमा धर्म तथा संस्कृतीसँग जोडिने गरिन्थ्यो। जरुँहिती बारे पनि त्यस्तै एउटा जनश्रुती रहेको पाइन्छ। कुनै पनि व्यक्तिले पानी लिएर फर्कदा जरुँमा पानी नखन्याएमा सो व्यक्तिको मृत्यु पछि उसको आत्मा प्यासी रहने र तृप्त नहुने जनश्रुती हामी अझै पनि बुढापाकाहरुबाट सुन्न सक्छौं। यदि यहि जनश्रुतिलाई केलाएर हेर्ने हो भने, जरुँहरुमा पानीको कमि नहोस् र पानी सँधै भरिएर रहिरहोस् भन्ने हेतुले यस्तो गरिएको हुन सक्ने भान हुन्छ।
नेवा: समाजभित्र गहिरिएर हेर्ने हो भने धर्मसँग जोडिएर रहेका यस्ता थुप्रै जनश्रुतिहरु रहेको पाइन्छ तर यसलाई राम्ररी केलाएर हेर्ने हो भने ती कुराहरु महत्वपूर्ण देखिन्छन्। अर्को एउटा जनश्रुती अनुसार इनारहरु सफा गर्नका लागि इनारभित्र जानू अगाडि एउटा झुन्ड्याउने बत्ती डोरीको सहायताले बिस्तारै इनारमा तल पठाउन पर्छ। यसो गर्दा यदि बत्ती निभेमा नाग देवता रिसाएको र इनारमा जान नहुने मान्यता रहेको छ। तर यदि यहि जनश्रुतिलाई केलाउने हो भने, इनार जमिनको सतह भन्दा तल हुने भएकोले गहिराइमा जाँदा हावाको मात्रा कम हुँदै जान्छ। इनारमा यदि अक्सिजनको मात्रा कम भएमा आगो आफै निभ्छ र यसरी अक्सिजनको मात्रा कम भएको समयमा इनार भित्र गएमा सास फेर्न सकस भइ व्यक्तिको मृत्यु पनि हुन सक्छ। तसर्थ आगो निभेको समयमा भित्र नजानु नै उचित रहन्छ। यस्ता धेरै जनश्रुतिहरु धर्म तथा आस्थासँग जोडिनुको कारण, धार्मिक मान्यताहरुलाई मानिसले नाइँनास्ती नगरी पुस्तौंसम्म सो प्रचलनको रुपमा कायम रहोस् भन्ने हेतुले पनि हुन सक्दछ।
आजको समयमा जरुँहिती पुर्ण रुपमा एक हराएको सम्पदा जस्तै भइसकेको छ। पुरानो पुस्ताले यसको महत्व बुझाउन नसक्दा र नयाँ पुस्ताले यस सम्पदालाई अँगाल्न नसक्दा भोलिका दिनहरुमा यी अमूल्य सम्पदाहरु लोप हुने सम्भावना रहन्छ। केही वर्ष अगाडि ललितपुर महानगरपालिकाले पुल्चोकमा Water Vending Machine भनी बटुवाहरुको लागि दुई रुपैयाँको सिक्का हाली २०० मि.लि पानी पिउन मिल्ने मेसिन राखेका छन्। हामीले हामीसँगै भएका जरुँहरुलाई उचित व्यवस्थापन गरि यसमा गरिनु पर्ने सुधारहरु गरि जरुँहरुलाई पुन: जिवित पार्न सके यो सम्पदाको महत्व अझै बढ्नेछ र हाम्रा पुर्खाहरु गौरवान्वित हुनेछन्।
( माथि तस्बिरमा रहेको जरुँहिती मंगलबजार स्थित मंग: हिति रहेको स्थानको हो। यस जरुँमा मानिसले पानी भर्ने नभइ यसको भित्र नै भुमिगत पानी आउने कुलोको व्यवस्था रहेको छ भने अझै पनि वर्षातका समयमा यसमा पानी आउने गर्दछ)
लेख : Frannkey Franz
तस्बिर : महेश दुमरु