काठमाडौं ,फाल्गुन ९-निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारी फिर्ता तथा चुनाव चिन्ह वितरणको प्रक्रिया सम्पन्न गरेको छ। आयोगले सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा दर्ता भएका उम्मेदवारमध्ये आज तोकिएको समयभित्र विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी कुल ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिने प्रक्रिया बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गरिएको थियो।
उम्मेदवारी फिर्ता लिने समय समाप्त भएपछि निर्वाचन आयोगले प्रत्येक निर्वाचन क्षेत्रको अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरेको हो। अन्तिम नामावली प्रकाशनसँगै आजै आयोगले बाँकी रहेका उम्मेदवारहरूलाई सम्बन्धित निर्वाचन क्षेत्रमा चुनाव चिन्ह प्रदान गरेको जनाएको छ। चुनाव चिन्ह वितरणपछि उम्मेदवारहरूले कानुनबमोजिम औपचारिक रूपमा आफ्नो चुनावी प्रचार–प्रसार सुरु गर्न पाउने व्यवस्था रहेको छ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता र चुनाव चिन्ह वितरण प्रक्रिया निर्वाचन कार्यतालिकाअनुसार शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ। आयोगले सबै उम्मेदवार, राजनीतिक दल र सरोकारवाला पक्षलाई निर्वाचन आचारसंहिता पालना गर्दै मर्यादित र निष्पक्ष चुनावी प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदान केन्द्र व्यवस्थापन, मतदाता शिक्षा, सुरक्षा प्रबन्ध तथा अनुगमनसम्बन्धी तयारीहरूलाई समेत तीव्र बनाएको जनाएको छ। आयोगका अनुसार निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउने उद्देश्यका साथ सबै आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ।