काठमाडौं ,असोज १३, आज दसैंको सातौं दिन, सप्तमी तिथिमा घर–घरमा फुलपाती भित्र्याउने गरिन्छ।त्यसै गरि नेपाली सेनाद्वारा आज टुडिखेलमा विशेष समारोह सहित फुलपाती बडाइँ गर्ने कार्यक्रम गरिदैछ।
यसैगरी गोरखाबाट काठमाडौं दरबारमा फुलपाती भित्र्याइदै छ।यो परम्परा ऐतिहासिक रूपमा पृथ्वीनारायण शाहसँग सम्बन्धित छ। काठमाडौं उपत्यकामा विजय प्राप्त गरेपछि उनले गोरखाबाट फुलपाती काठमाडौं दरबारमा भित्र्याउने प्रचलनको सुरुवात गरेका थिए। त्यसपछि यो परम्परा निरन्तर चल्दै आएको छ। गोरखाबाट ल्याइने फुलपातीलाई आज पनि विशेष सुरक्षा व्यवस्थासहित काठमाडौं ल्याएर हनुमानढोका दरबारमा प्रवेश गराइन्छ।
आजको दिन घर–घरमा शुभ मुहूर्तमा फुलपाती भित्र्याइन्छ। नवरात्रको सातौं दिन देवी दुर्गाको आराधना गर्ने महत्वपूर्ण दिन मानिन्छ। घरमा राखिएको घटस्थापनास्थलमा विधिपूर्वक फुलपाती भित्र्याएर पूजा अर्चना गर्ने चलन छ। यसले देवीको शक्तिको आवाहन गर्दै घर–परिवारमा सुख–समृद्धि र शान्ति ल्याउने विश्वास गरिन्छ।