थुनामुक्त हुन रवि लामिछानेले धरौटी बुझाउँदै

काठमाण्डाै  सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त हुन धरौटी बुझाउँदै छन्। 

जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी रिहा हुन धरौटी बुझाउने प्रक्रियामा रहेका छन्। लामिछानेसँगै छविलाल जोशी र रामप्रसाद खनाल पनि धरौटी बुझाउने प्रक्रियामा छन्।

अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार धरौटी बुझाएसँगै उनीहरूलाई रिहा गरिने छ। 'रवि लामिछनेले धरौटी बुझाएपछि हामी रिहा गर्छौं,' उनले भने, 'बाँकी कुरा प्रहरीको भयो।'

कास्की प्रहरी स्रोतले धरौटी बुझाएलगत्तै लामिछानेलाई काठमाडौं लगिने बताएका छन‍्।काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछानेमाथि मुद्दा छ। यस्तै, लिला पछाई धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन्। 

सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दा लागेका जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।

रास्वपा सभापति लामिछानेलाई ६५ लाख, पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो।

लामिछानेमाथि जहाँ-जहाँ मुद्दा छ ती सबै जिल्लाका अदालतमा कास्कीमा जस्तै थुनछेक बहस हुनेछ।

प्रतिक्रिया