काठमाडौं,माघ २५ — आईसीसी टी–२० विश्वकपको समूह चरण अन्तर्गत आज भएको रोमाञ्चक खेलमा नेपाल इंग्ल्याण्डसँग मात्र ४ रनले पराजित भएको छ। इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। जवाफमा नेपालले कडा संघर्ष गर्दै २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाए पनि लक्ष्य पार गर्न सकेन।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै २९ बलमा ४४ रन बनाए। उनले ६ चौका र १ छक्का प्रहार गर्दै जितको आशा जगाएका थिए। यस्तै, लोकेश बामले २० बलमा ३९ रन जोड्दा कप्तान रोहित पौडेलले ३४ बलमा ३९ रनको महत्वपूर्ण योगदान दिए। कुशल भुर्तेलले १७ बलमा २९ रन बनाएर सुरुआती गतिलाई मजबुत पारे।
नेपालको विकेट क्रमशः ३७, ४२, १२४, १२६, १४६ र १७५ रनमा झरेका थिए। अन्तिम ओभरसम्म खेल खुला रहे पनि केही महत्वपूर्ण क्षणमा विकेट गुम्दा नेपाल लक्ष्यभन्दा ४ रन टाढा रह्यो।
इंग्ल्याण्डका बलरमध्ये लियाम डसनले ४ ओभरमा २१ रन मात्र खर्चेर २ विकेट लिएर सबैभन्दा प्रभावशाली रहे। साम करनले १ विकेट लिए भने लुक वुड, जोफ्रा आर्चर र विल ज्याक्सले पनि समान १–१ विकेट हात पारे।
यसअघि इंग्ल्याण्डले प्रतिस्पर्धी स्कोर खडा गर्दै नेपाललाई कडा लक्ष्य दिएको थियो। हार भए पनि नेपालले विश्वस्तरीय टोलीविरुद्ध देखाएको जुझारु प्रदर्शन नेपाली क्रिकेटका लागि उत्साहजनक मानिएको छ। आगामी खेलमा यस्तै प्रदर्शन दोहोर्याउन सके समूह चरणमा नेपालको सम्भावना अझ बलियो बन्नेछ।