एक महिनामै प्रकाशित भयो २०८२ सालको एसईई नतिजा, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

sidhasamachar.com


काठमाडौं, वैशाख २९ — राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा हिजो वैशाख २८ गते सार्वजनिक गरेको छ। परीक्षा सकिएको करिब एक महिनामै नतिजा प्रकाशित गरेर बोर्डले यस वर्ष नतिजा प्रकाशनमा नयाँ गति दिएको छ।

यस वर्षको एसईई परीक्षामा देशभरबाट सहभागी भएका ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थीमध्ये २ लाख ८४ हजार १ सय ६० विद्यार्थी उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५ सय ७ विद्यार्थीले ‘एनजी’ (Non Graded) प्राप्त गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको समग्र उत्तीर्ण प्रतिशत ६५.९८ रहेको छ।

बोर्डले सार्वजनिक गरेको राष्ट्रिय विवरण अनुसार सबैभन्दा धेरै विद्यार्थी २.८० देखि ३.२० जीपीए समूहमा रहेका छन्। उक्त समूहमा ९४ हजार २ सय २२ विद्यार्थी परेका छन्। त्यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी संख्या ८० हजार ३ सय ७२ रहेको छ भने ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थी ४८ हजार ३ सय ९२ रहेका छन्।

यसैगरी २.४० देखि २.८० जीपीए ल्याउने ५५ हजार ९ सय ७७, २.०० देखि २.४० जीपीए ल्याउने ५ हजार १ सय ९० तथा १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थी संख्या ७ रहेको बोर्डले जनाएको छ।

प्रदेशगत विवरण हेर्दा सबैभन्दा धेरै विद्यार्थी मधेश प्रदेश र बागमती प्रदेशबाट सहभागी भएका देखिन्छन्। बागमती प्रदेशमा उच्च जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या उल्लेख्य देखिएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा ‘एनजी’ प्राप्त गर्ने विद्यार्थीको संख्या तुलनात्मक रूपमा बढी देखिएको छ।

प्रदेश १ मा कुल ७२ हजार २ सय ५६ विद्यार्थीमध्ये २१ हजार ३ सय ६६ जनाले एनजी ल्याएका छन्। मधेश प्रदेशमा ७६ हजार ३ सय १७ मध्ये ३१ हजार ७ सय २५ विद्यार्थी एनजी भएका छन्। बागमती प्रदेशमा कुल ९८ हजार ८ सय १७ विद्यार्थीमध्ये २१ हजार ७ सय ४ जनाले एनजी ल्याएका छन्।

गण्डकी प्रदेशमा ३६ हजार ४ सय ९३ विद्यार्थीमध्ये ९ हजार ९ सय ४३, लुम्बिनी प्रदेशमा ७२ हजार १ सय ४९ मध्ये २७ हजार ८ सय ९३, कर्णाली प्रदेशमा ३२ हजार ३ सय ३६ मध्ये १३ हजार २ सय ४१ तथा सुदूरपश्चिम प्रदेशमा ४२ हजार २ सय ९९ विद्यार्थीमध्ये २० हजार ६ सय ३५ जनाले एनजी प्राप्त गरेका छन्।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्दै एनजी प्राप्त गरेका विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराइने जनाएको छ। बोर्डका अनुसार यस वर्ष उत्तरपुस्तिका परीक्षण, विवरण संकलन र नतिजा प्रशोधन कार्यलाई प्रविधिमैत्री बनाइएकाले छोटो समयमै नतिजा प्रकाशन सम्भव भएको हो।

यस वर्ष परीक्षा सम्पन्न भएको झण्डै एक महिनामै नतिजा प्रकाशित भएपछि विद्यार्थी, अभिभावक तथा विद्यालयहरू समेत उत्साहित बनेका छन्। विगतका वर्षमा लामो समय कुर्नुपर्ने अवस्थाको तुलनामा यस पटकको छिटो नतिजा प्रकाशनलाई शिक्षा क्षेत्रले सकारात्मक रूपमा लिएको छ।

प्रतिक्रिया