काठमाडौं ,फेब्रुअरी १२ - आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। आज सम्पन्न खेलमा नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले कुनै विकेट नगुमाई मात्र १२.४ ओभरमै पूरा गर्दै सहज जित हात पारेको हो।
पहिले ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनाएको थियो। नेपालका ब्याट्सम्यानहरूले ठूला साझेदारी गर्न नसक्दा टोली मध्यम स्कोरमै सीमित हुन पुगेको हो।
जवाफमा इटालीका दुवै ओपनर आन्द्रेया मोस्का र जोन मोस्काले उत्कृष्ट प्रदर्शन गर्दै नेपालका बलरहरूलाई दबाबमा पारे। जोन मोस्काले ४४ बलमा ६० रन बनाए भने आन्द्रेया मोस्काले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा अविजित ६२ रन जोडे। उनीहरूले क्रमशः ५ चौका र ३ छक्का तथा ३ चौका र ६ छक्का प्रहार गरे।
नेपालका बलरहरू विकेट लिन असफल रहे। करन केसी, दीपेन्द्र सिंह ऐरी, ललित राजबंशी, सन्दीप लामिछाने, नन्दन यादव र कुशल भुर्तेलले बलिङ गरे पनि एक पनि विकेट लिन सकेनन्। सबैभन्दा महँगो सावित भएका ललित राजबंशीले १ ओभरमै १९ रन खर्चिए।
इटालीले कुनै विकेट नगुमाई लक्ष्य पूरा गरेपछि खेल पूर्ण रूपमा एकतर्फी बन्यो। यो नतिजासँगै समूह चरणमा नेपालको स्थिति थप कठिन बनेको छ।
अब नेपालले आगामी खेलमा बलियो प्रदर्शन गर्दै अंक तालिकामा सुधार ल्याउनुपर्ने दबाबमा रहेको छ।