पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि

sidhasamachar.com


काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालमा पनि पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य समायोजन गरिएको जनाएको छ। निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पछिल्लो समय मध्यपूर्व तथा पश्चिम एशियामा देखिएको युद्धको प्रभावका कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिका कारण आपूर्ति व्यवस्थापनमा चुनौती देखिए पनि नागरिकलाई सहज र नियमित आपूर्ति गर्ने प्रयास जारी राखिएको छ। नेपाल जस्तो आफ्नै पेट्रोलियम स्रोत नभएको मुलुकमा मूल्य र आपूर्तिमा बाह्य परिस्थितिको प्रत्यक्ष प्रभाव पर्ने निगमले जनाएको छ।

यसअघि वि.सं. २०७९ सालमा रुस–युक्रेन युद्धका कारण पनि पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढ्दा आपूर्ति प्रणालीमा असर परेको थियो। त्यसबेला मूल्य समायोजन गर्न नसक्दा Indian Oil Corporation लाई करिब २४ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको निगमले जनाएको थियो। उक्त रकममध्ये करिब ७ अर्ब रुपैयाँ नेपाल सरकारको अर्थ मन्त्रालयबाट ऋण लिइएको थियो भने राष्ट्रिय वाणिज्य बैंकमा रहेको सम्पत्ति धितो राखी करिब ३ अर्ब रुपैयाँ ऋण तथा मूल्य स्थिरीकरण कोष प्रयोग गर्दा पनि दायित्व पूरा गर्न कठिनाइ भएको थियो।

निगमले हालको अवस्थामा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि र आपूर्ति व्यवस्थापनमा चुनौती देखिए पनि निरन्तर आपूर्ति गर्दै आएको भन्दै Indian Oil Corporation लाई धन्यवाद व्यक्त गरेको छ।

अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार हाल पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्य वृद्धि भएको निगमले जनाएको छ। नयाँ समायोजन अनुसार पेट्रोलको हालको मूल्य प्रतिलिटर १५७ रुपैयाँबाट बढेर १८८ रुपैयाँ पुगेको छ, जसअनुसार प्रतिलिटर ३१ रुपैयाँ वृद्धि भएको छ। त्यस्तै डिजेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँबाट बढेर १९६ रुपैयाँ पुगेको छ, जसअनुसार प्रतिलिटर ५४ रुपैयाँ वृद्धि भएको छ। एलपी ग्यासको हालको मूल्य प्रति सिलिन्डर १९१० रुपैयाँबाट बढेर २१२६ रुपैयाँ पुगेको छ, जसअनुसार प्रति सिलिन्डर २१६ रुपैयाँ वृद्धि भएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार भविष्यमा पनि मूल्य समायोजन हुन सक्ने जनाएको छ।


प्रतिक्रिया