काठमाडौं ,फाल्गुन २२-टी–२० विश्वकपको सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै रोमाञ्चक जित निकालेको छ। निर्धारित २० ओभरको खेलमा भारतले बनाएको २५३ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २४६ रन मात्र बनाउन सक्यो।
इंग्ल्यान्डका लागि जेमी बेथेलले उत्कृष्ट शतकीय पारी खेल्दै ४८ बलमा १०५ रन बनाए। उनले ८ चौका र ७ छक्का प्रहार गर्दै टोलीलाई जित नजिक पुर्याएका थिए। विल ज्याक्सले २० बलमा ३५ रन, जोस बटलरले १७ बलमा २५ रन तथा टम ब्यान्टनले ५ बलमा १७ रन बनाएका थिए। तर अन्तिम क्षणमा लगातार विकेट गुमेपछि इंग्ल्यान्ड लक्ष्य भेट्न असफल भयो।
भारतका लागि हार्दिक पाण्ड्याले महत्वपूर्ण बलिङ गर्दै ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए। जसप्रीत बुमराहले ४ ओभरमा ३३ रन दिँदै १ विकेट लिए भने अर्शदीप सिंह, अक्षर पटेल र वरुण चक्रवर्तीले समान १–१ विकेट हात पारे।
इंग्ल्यान्डको इनिङ्समा १३ अतिरिक्त रन (१० वाइड र ३ लेगबाइ) थपिएका थिए। इंग्ल्यान्डका लियम डसन र आदिल राशिद भने ब्याटिङमा आउन पाएनन्।
खेलको अन्तिम ओभरसम्म पुगेको निकै प्रतिस्पर्धात्मक खेलमा भारतले संयमित प्रदर्शन गर्दै जित सुरक्षित गरेको हो। यस जितसँगै भारतले प्रतियोगिताको फाइनल यात्रा पनि तय गरेको छ।