काठमाडौ, २०८२ साउन २४ – आज विश्वभरका आदिवासी समुदायहरूले विश्व आदिवासी दिवस विभिन्न कार्यक्रमसहित मनाइरहेका छन्। नेपालमा पनि विभिन्न जातीय समुदायहरूले यस दिनलाई आफ्नो मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण तथा पहिचान सुदृढीकरणका अवसरका रूपमा लिएका छन्। यस अवसरमा काठमाडौं उपत्यकासहित देशभर विविध कार्यक्रम हुँदैछन्।
विशेषगरी, आज तामाङ समुदायमा यसको सांस्कृतिक महत्त्व अझ विशेष छ। तामाङहरूले आजको दिनलाई आफ्नो परम्परागत गोनेङ्या पर्वका रूपमा पनि मनाउँछन्। यो पर्वमा मृतक आफन्तहरूको आत्माको सम्मानमा ङोवा पूजा गर्ने परम्परा रहिआएको छ।
समुदायका मान्यजनहरूका अनुसार, ङोवा पूजामा “आखेम्हेमे”, “माम” लगायत दिवंगत आफन्तहरूको स्मरण गरिन्छ। पूजामा बौद्ध धर्मका लामा गुरु, गाउँ वा टोलका ताम्बा गान्बा, तथा पूजामा सहकार्य गर्ने लोब्बन आदिको सक्रिय सहभागिता हुन्छ। यो अवसरमा बौद्ध स्तूप, गुम्बा तथा घर–घरमा विशेष पूजा, मन्त्रपाठ, धुप-बत्ती अर्पण र प्रार्थना गर्ने चलन छ।
आज बिहानैदेखि काठमाडौं उपत्यकाका प्रमुख बौद्ध स्थलहरूमा श्रद्धालुहरूको भीड बढेको देखिएको छ। स्वयम्भूनाथ, बौद्धनाथ, सेतो गुम्बा लगायतका स्थानमा तामाङ समुदायका मानिसहरू परम्परागत पोशाकमा उपस्थित भई धुप-बत्ती, फुल र खानेकुरा अर्पण गर्दै पूजापाठ गरिरहेका छन्।
तामाङ समुदायका ज्येष्ठ नागरिकहरूका अनुसार, गोनेङ्या पर्वले मृतक आत्माको शान्ति र पुनर्जन्मको कल्याणको कामना गर्ने सांस्कृतिक तथा धार्मिक सन्देश दिन्छ। यस पर्वलाई पुस्तान्तरणका माध्यमबाट निरन्तरता दिँदै आउने चलन तामाङहरूको सामुदायिक एकता र धार्मिक आस्थाको प्रतीक मानिन्छ।
यसैबीच, विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा विभिन्न आदिवासी महासंघ र संघ–संस्थाहरूले सांस्कृतिक प्रदर्शन, गीत–संगीत कार्यक्रम तथा अधिकार सम्बन्धी छलफलहरू आयोजना गरेका छन्। मानव अधिकारकर्मीहरूले आदिवासीहरूको भाषा, पहिचान र सांस्कृतिक सम्पदाको संरक्षणका लागि राज्यको नीतिगत प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।
आजको दिनले तामाङ समुदायको गोनेङ्या पर्व र विश्व आदिवासी दिवस दुवैलाई जोडेर सांस्कृतिक विविधताको महत्त्व उजागर गरेको छ, जसले नेपालको बहुजातीय र बहुसांस्कृतिक पहिचानलाई अझ सशक्त बनाएको देखिन्छ।
बाबू घिसिङ