शुशिला कार्कीका मन्त्रीहरुको बारे !

sidhasamachar.com

काठमाडौँ , असोज ७। हालै अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी शुशिला कार्कीले आफ्नो मन्त्रिपरिषद् विस्तार गर्दै विभिन्न क्षेत्रमा अब्बल दक्षता र अनुभव हासिल गरेका व्यक्तित्वहरूलाई मन्त्रीमा नियुक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीको पहिलो प्राथमिकता नै योग्य, शिक्षित र समाजमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सरकार सञ्चालनमा सहभागी गराउने रहेको छ। यसरी नियुक्त भएका मन्त्रीहरूको शैक्षिक योग्यता तथा पेशागत पृष्ठभूमि हेर्दा उनीहरू आ–आफ्नो क्षेत्रमा उत्कृष्ट दरिएका देखिन्छन्।

नवनियुक्त मन्त्रीहरूको विवरण यसप्रकार छन् :


प्रधानमन्त्री शुशिला कार्की स्वयं MA, LLB योग्यता हासिल गरेकी छिन्। उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश समेत रहिसकेकी भएकी कारण न्याय, अधिकार र विधिको शासनमा दृढ विश्वास राख्छिन्।

मदन परियारलाई मन्त्रीको जिम्मेवारी दिइएको छ। उनी PhD, Agricultural Engineer हुन्। कृषिक्षेत्रको प्राविधिक ज्ञान र अनुसन्धानमा लामो अनुभव भएकाले कृषिमा आत्मनिर्भरता र आधुनिकीकरणतर्फ योगदान दिने अपेक्षा गरिएको छ।

ओम प्रकाश अर्याललाई पनि मन्त्रिपरिषद्मा स्थान दिइएको छ। उनीसँग LLM, MA, LLB शैक्षिक योग्यता रहेको छ। प्रख्यात कानुनविद् र सामाजिक न्यायका अभियन्ता अर्याल न्याय क्षेत्रमा सुधार ल्याउने व्यक्तित्वका रूपमा चिनिन्छन्।

रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी ACCMA, MBA योग्यता हासिल गरेका अनुभवी अर्थविद् हुन्। नेपाल सरकारको उच्च पदमा रहेर काम गरेको अनुभव भएकाले आर्थिक सुधार, पारदर्शिता र दिगो विकासमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ।

कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनले ME, MBA गरेका छन्। नेपाल विद्युत प्राधिकरणमा कार्यरत रहँदा उनले लोडसेडिङ अन्त्य गरेर आम नेपालीलाई सहज विद्युत् आपूर्ति गरेका थिए।


जगदीश खरेललाई सञ्चार तथा प्रविधि मन्त्रालयमा जिम्मेवारी दिइएको छ। उनीसँग MMC, MPhil-PhD ongoing शैक्षिक पृष्ठभूमि छ। सञ्चार क्षेत्रमा दक्ष मानिने खरेलको योजनाले आधुनिक प्रविधि र डिजिटल रुपान्तरणलाई गति दिने विश्वास गरिएको छ।

महावीर पुनलाई शिक्षा मन्त्रालयको नेतृत्व दिइएको छ। उनले Master in Education from Nebraska University गरेका छन्। ग्रामीण क्षेत्रमा प्रविधि र आविष्कारलाई जोडेर शिक्षाको पहुँच विस्तार गर्न सक्रिय पुनको भूमिका शिक्षामा मौलिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

अनिल कुमार सिन्हालाई गृह तथा कानुन मन्त्रालयमा जिम्मेवारी दिइएको छ। उनले LLB, LLM शैक्षिक योग्यता हासिल गरेका छन्। कानुनी सुधार, न्याय प्रणालीलाई चुस्त–दुरुस्त बनाउने र नागरिक सुरक्षामा सुधार ल्याउनेतर्फ सिन्हाको भूमिका महत्वपूर्ण हुने अनुमान गरिएको छ।

प्रधानमन्त्री कार्कीले योग्यतामा आधारित नियुक्ति गरेर नयाँ अभ्यासको सुरुवात गरेकी छन्। यो मन्त्रिपरिषद्मा नियुक्त भएका व्यक्तित्वहरू आ–आफ्नो क्षेत्रमा ख्याति प्राप्त, समाज सेवामा सक्रिय र दूरदर्शी योजनासहित अघि बढ्ने व्यक्तित्व भएकाले देशलाई नयाँ दिशातर्फ डो–याउने आशा गरिएको छ।

यसरी शैक्षिक योग्यता र अनुभवमा भर पारी तयार गरिएको मन्त्रिपरिषद्ले देशमा सुशासन, पारदर्शिता, विकास र न्याय सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।



---

प्रतिक्रिया