देशभर असोज १९ देखि २० गतेसम्म सार्वजनिक बिदा घोषणा!

sidhasamachar.com


काठमाडौं, असोज १८ – जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भीषण वर्षा हुने सम्भावना रहेकाले नेपाल सरकारले दुई दिनका लागि देशभर सार्वजनिक बिदा घोषणा गरेको छ।


गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा हाल देशका विभिन्न भागमा भारी वर्षा भइरहेकाले बाढी, पहिरो, डुबान र भू–स्खलनजस्ता विपद् जोखिमको सम्भावना अत्यधिक रहेको उल्लेख गर्दै विशेष सतर्कता अपनाउन सबै नागरिकलाई अनुरोध गरिएको छ।


मन्त्रालयका अनुसार वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मानवीय क्षति हुन नदिन सावधानी अपनाउन निर्देशन दिइएको छ। असोज १९ र २० गते सबै सरकारी कार्यालयहरू बाहेक विपद् व्यवस्थापन र अत्यावश्यक सेवासम्बन्धी निकायहरू भने खुला रहने बताइएको छ।


गृह मन्त्रालयका प्रवक्ता सहसचिव भानु प्रसाद काफ्लेले हस्ताक्षरित सूचनामा भनिएको छ, “देशभर सार्वजनिक बिदा दिइएको जानकारीका साथै नागरिकलाई अति आवश्यक नपरी घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।”


मन्त्रालयले बाढी–पहिरो र अन्य विपद्का जोखिमबाट जोगिन स्थानीय प्रशासन, सुरक्षा निकाय र विपद् व्यवस्थापन समितिसँग निरन्तर समन्वय गरी सतर्क रहन पनि आग्रह गरेको छ।


नेपाल सरकारले जारी गरेको यो बिदा असोज महिनाको पहिलो औपचारिक सार्वजनिक बिदा हो, जसले देशका अधिकांश क्षेत्रका जनतालाई सम्भावित प्राकृतिक विपद्‌बाट सुरक्षित रहन समय प्रदान गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया