डा. निकोलस लाई आज अदालत पेस गरिने

काठमाण्डौ  पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ । कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले भुसाललाई आज जिल्ला अदालतमा पेस गरिने जानकारी दिए ।

उनलाई प्रहरीले साइबर अपराधको सुरमा विहीबार पक्राउ गरेको हो । यसअघि पनि उनी पुस ७ गते पक्राउ परेका थिए ।

पुस ८ गते पोखरा ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नारायण दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । अहिले प्रहरीले अनुसन्धान सकेर प्रमाण भेटाएपछि विहीबार फेरि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख ओलियाले जानकारी दिए ।

‘साइबर अपधारको कसुरमा पक्राउ गरी अदालत पेश गरेका थियौं, अदालतले बाहिरै राखेर अनुसन्धान गर्न भनेको थियो र हामीले त्यहीअनुसार अनुसन्धान गर्दा पक्राउ गर्नुपर्ने देखिएको हो,’ एसपी ओलियाले भने, ‘भुसाललाई शुक्रबार अदालतमा पेश गरिने छ ।’

उनी रविको स्वास्थ्य अवस्था बुझ्न कास्की जिल्ला प्रहरी कार्यालय जाँदा सुतिरहेको फोटो खिचेर फेसबुकमा सार्वजनिक गरेपछि प्रहरीको आलोचना भएको थियो । भुसालले फेसबुक लाइभमा आएर त्यो फोटो आफूले खिचेको र फोटो सार्वजनिक गर्दा खराब नियत नराखेको अभिव्यक्ति दिएका थिए ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा त्यतिबेला हिरासतमा रहेका रास्वपा सभापति लामिछाने गत पुस २५ गते ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिक्रिया