काठमाडौँ, कात्तिक ३ – आज यम पञ्चकको दोस्रो दिन देशभर कुकुरलाई पूजा गरी कुकुर तिहार मनाइँदैछ। नेपालीहरूले कुकुरलाई इमानदारी, रखवाली र निष्ठाको प्रतीकका रूपमा सम्मान गर्ने परम्परा छ। कुकुरलाई यमदूतको सन्देशवाहक र भगवान भैरवको स्वरूप मानिँदै त्यसैअनुसार पूजा गर्ने चलन रहिआएको छ।
आजका दिन घर–घरमा रहेका कुकुरलाई माला, टीका र मीठा परिकार अर्पण गर्दै पूजा गरिन्छ। सडकका कुकुरहरूलाई समेत दया र सम्मानका साथ मिष्ठान्न खुवाउने प्रचलन पछिल्ला वर्षहरूमा अझै व्यापक बन्दै गएको छ।
यसैबीच, आज औँसी तिथि परेकोले साँझपख धनधान्यकी देवी लक्ष्मीको पूजा पनि गरिँदैछ। घरको ढोका, झ्याल, र कोठाहरू सफा गरी बत्ती बाल्दै लक्ष्मीको आगमनका लागि स्वागत गरिन्छ। महिलाहरूले घर–घरमा गएर भैलिनी गीत गाउँदै भैली खेल्ने परम्परा पनि आजदेखि सुरु हुने गर्छ।
काठमाडौं उपत्यकाका नेवा: समुदायले भने आज र भोलि दुबै दिनऔंसि तिथि परेकोले दुबै दिन लक्ष्मी पूजा गर्दैछ्न। उनीहरूले घर र व्यवसायिक स्थलमा लक्ष्मीको आराधना गरी समृद्धि र सौभाग्यको कामना गर्छन्।
यम पञ्चकको दोस्रो दिन यसरी कुकुरप्रति सम्मान, देवी लक्ष्मीको आराधना र सांस्कृतिक गीत–संगीतको रौनकले देशभर तिहारको उत्सव झनै रंगीन बनेको छ।