काठमाडौं, साउन – गाईजात्राको भोलिपल्ट पाटनका नेवार समुदायले मनाउने विशेष धार्मिक तथा सांस्कृतिक पर्व मतया जात्रा आज धुमधामका साथ मनाइँदैछ। ‘मत’ अर्थात् दीप र ‘आया’ अर्थात् घुम्नु भन्ने अर्थमा आधारित यो जात्रालाई दीप जात्राका नामले पनि चिनिन्छ।
जनविश्वास अनुसार यस दिन दीप बालेर पूजा गरेमा चिताएको काम पूरा हुने, दु:खबाट सुख पाइने, अन्धकारबाट उज्यालो प्राप्त हुने तथा स्वर्गवासी आत्माले राम्रो स्थानमा पुनर्जन्म पाउनेछन् भन्ने मान्यता छ।
लिच्छवीकालदेखि प्रचलित यो पर्वको उत्पत्ति धार्मिक र सांस्कृतिक दुवै दृष्टिले महत्वपूर्ण छ। इतिहासकारहरूका अनुसार लिच्छवी शासकहरूको शासनकालमा बौद्ध धर्मको संरक्षण र विस्तारका लागि पाटनमा स्तूप, चैत्य र विहारहरूको स्थापना मात्र नभई ती स्थानहरूको नियमित परिक्रमा र दीप प्रज्वलनको परम्परा सुरु गरिएको थियो। मतया जात्रालाई पनि त्यही कालखण्डको धार्मिक अभ्यासको निरन्तरता मानिन्छ। यस पर्वले मृत आत्माप्रति श्रद्धा अर्पण गर्नुका साथै बौद्ध दर्शनको ‘अन्धकारबाट प्रकाशतर्फको यात्रा’ भन्ने मूल सन्देशलाई प्रतिविम्बित गर्छ।
विशेषगरी एक वर्षभित्र दिवंगत भएका व्यक्तिका परिवारजन सहभागी हुने यो परम्परा बिहान करिब ४ बजेबाट सुरु भई बेलुकी करिब ८ बजेसम्म निरन्तर चल्ने गर्दछ। यस क्रममा विभिन्न परम्परागत बाजागाजासहित सहभागीहरूले पाटनका चार विशेष स्तूप र सबै टोलटोलमा पुगेर पूजा गर्ने परम्परा छ।
पाटनका १० स्थान अथवा टोललाई आलोपालोमा पूजा सञ्चालनको जिम्मेवारी दिइन्छ। यस पर्वमा पाटनबाहेक बुगमती, खोकना, थैव लगायतका पुराना नेवार बस्तीमा पनि मतया जात्रा आयोजना गरिन्छ भने पाल्पाको तानसेनमा पनि यो पर्व निकाल्ने परम्परा रहँदै आएको छ।
सांस्कृतिक सम्पदा संरक्षण, धार्मिक आस्था र सामुदायिक एकताको सन्देश बोकेको मतया जात्राले ललितपुरको ऐतिहासिक पहिचानलाई अझ जीवित राख्दै आएको स्थानीयहरू बताउँछन्।