कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा र हिमपात

काठमाण्डाै  आज देशको पहाडी भेगका केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कास्कीको लुम्लेमा ५ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै सङ्खुवासभाको नुममा ३ दशमलव ८ मिलिमिटर, म्याग्दीको मुना र लमजुङको खुदी बजारमा समान २ दशमलव २  मिलिमिर वर्षा भएको छ ।

आज प्यूठान, बागलुङ, गुल्मी, नुवाकोट, मकवानपुर, सोलुखुम्बु लगायतको जिल्लाका पहाडी भेगमा पनि सामान्य वर्षा भएको विभागले जनाएको छ । काठमाण्डौको धाप ड्याम क्षेत्रमा २ मिलिमिटर वर्षा भएको छ । ललितपुरको गोदावरीमा शून्य दशमलव २ मिलिमिटर वर्षा भएको छ ।

काठमाण्डौ उपत्यकामा बेलुकातिर छिटपुट बाहेक वर्षाको सम्भावना कम हुँदै गएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । कोशी, बाग्मती र गण्डकी प्रदेशमा पर्ने धेरैजसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रहरूमा बेलुकासम्म बदलीसहित सामान्य वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले बताउनुभयो । उहाँका अनुसार भोलि बिहानदेखि मौसम सुधार हुँदै जाने सम्भावना छ ।

यसैबीच तराई क्षेत्रको हुस्सु तथा कुहिरो भने अझै केही दिन रहने देखिएको छ । भोलिदेखि हुस्सु तथा कुहिरो थप बलियो बन्दै केही दिन रहने सम्भावना देखिएको मौसमविद् लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया