कोजाग्रत पुर्णिमा र आल:मत:

sidhasamachar.com

काठमाडौं ,असोज २०-बडा दशैंको अन्तिम दिनलाई कोजाग्रत पुर्णिमा भनिन्छ । घटस्थापनाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । यसै दिन घटस्थापनाका दिन ल्याएको माटो र उमारेको जमरा नदिमा सेलाएर दशैंको औपचारिक समापन गरिन्छ । यस दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी 'को जागेको छ ?' भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । कोजाग्रतको अर्थ "को जागा व्रत" हो । जसको अर्थ को जागा भै व्रत बसेको छ उसलाई माता महालक्ष्मीले हेर्न आउनु हो । यसैगरी सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि शुरु हुन्छ । आकाशदीपलाई 'आलोकदीप' पनि भने गरिन्छ । नेपाल भाषामा यसलाई 'आल:मतः' भन्ने गरिन्छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल आदिको लिङ्गो ठड्याइ गरिन्छ । आकाशदीप दान पहिलो सोर्‍ह दिन (कोजाग्रत पूर्णिमा देखि लक्ष्मी पुजा सम्म) माता लक्ष्मीका सोर्‍ह अवतारमा समर्पित रहन्छ ।

१) आदि लक्ष्मी (भाग्य र समृद्धिको देवी)

२) धन लक्ष्मी (धन पैसाको देवी)

३) धन्य लक्ष्मी (अन्न र सु-स्वास्थ्य की देवी)

४) गज लक्ष्मी (शक्ति, श्रोत र साधनकी देवी)

५) सन्तान लक्ष्मी (सन्तान प्राप्ति गराउने देवी)

६) वीर लक्ष्मी (वीरता र धैर्यताको देवी)

७) विजय लक्ष्मी (सफलता तथा विजयको देवी)

८) विद्या लक्ष्मी (ज्ञान शिक्षा तथा सिपको देवी)

९) मेधा लक्ष्मी (विधि र विवेकको देवी)

१०) भाग्य लक्ष्मी (भाग्य र अवसरको देवी)

११) कीर्ति लक्ष्मी (यश तथा किर्तिकी देवी)

१२) आरोग्य लक्ष्मी (स्वस्थताको देवी)

१३) सिद्धि लक्ष्मी (प्रगति तथा उन्नतिको देवी)

१४) सौन्दर्य लक्ष्मी (सौन्दर्य तथा रूप की देवी)

१५) साम्राज्य लक्ष्मी (मोक्ष प्राप्ति, अधर्म मुक्तिको देवी)

१६) मंगल लक्ष्मी (शुभ लगनको देवी)

यी १६ देवीहरु माता लक्ष्मीका अवतार हरु हुन्। यी सारा देवीको एकै स्वरूप नै महालक्ष्मी हुन । त्यस्तै अर्को पन्द्र दिन भने भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । कोजाग्रत पूर्णिमाको दिनदेखि आकाशदीप बाल्ने परम्परा रहेको छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ । कोजाग्रत पूर्णिमा देखि कात्तिक शुक्ल पूणिर्मासम्म अर्थात् एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चना गर्ने धार्मिक प्रचलन रहेको छ । विजया दशमीमा दानव प्रवृत्तिमाथि मानवी वा दैवीशक्तिको विजय अर्थात् अन्धकारमाथि प्रकाशको विजय भएको खुसियालीमा तीनै लोकमा बत्ती बालेर हर्षोल्लासका साथ यो उत्सव मनाइएको हो । युद्ध विजयको अवसरमा आकाशदीप बाल्ने प्राचीन परम्परा अरू देशमा पनि रहेको संस्कृतिविद् हरिराम जोशीले बताउनु भयो, 'पाँचौं शताब्दीमा मलेसियाको अभिलेखमा श्री मूल वर्मा राजाले विजयको उपलक्ष्यमा आकाशदीप बालेको वणिर्तलाई यस कुराको उदाहरणको रूपमा लिन सकिन्छ।' 

प्रचलित जनश्रुतिअनुसार कात्तिक महिना पवित्र महिना भएकाले अँध्यारो रातमा आकाशचारी देव, गन्धर्व, किन्नर, सिद्ध, ऋषि आदिले कतै बाटो नभुलुन् भनेर त्यसरी आकाशदीप बालेको भन्ने लोककथन छ । 

त्यस्तै यसैदिन रंजितकारहरुले भक्तपुरको गोल्मढी टोलमा निर्मित नमोबुद्धको चैत्य अगाडि पाँचवटा योमरी चढाउने गर्दछ भने अखण्डशिल महाबिहार र सुकुलढोका स्थित चैत्यमा पनि पुजा गर्ने प्रचलन पनि रहि आएको छ । त्यस्तै मानन्धरहरुले गोल्मढी र साकोलानमा अवस्थित चैत्यमा र प्रजापतिहरुले सुर्यमढीमा अवस्थित चैत्यमा, बज्राचार्य र शाक्यहरुले ईनाचोमा अवस्थित चैत्यमा पुजा गर्ने गर्दछ ।

यसै दिनबाट चांगुनारायण मन्दिरमा कार्तिक मता: बाल्ने गरिन्छ जुन एक महिना सम्म चल्छ र हरिबोधनी एकादशीको भोलि पल्ट द्वा मता: विशेष बाल्ने चलन पनि रहेको छ ।

लेख: GR Ranjit

प्रतिक्रिया