श्रीलङ्काले ४० मुलुकका लागि भिसा शुल्क हटाउने निर्णय, पर्यटन र अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्य!

sidhasamachar.com

कोलम्बो – श्रीलङ्काले ४० मुलुकका नागरिकलाई भिसा शुल्क नलिने नीति लागू गर्ने भएको छ। यसमा बेलायत, जर्मनी, नेदरल्याण्ड्स, क्यानडा, अष्ट्रेलिया, स्पेन र बेलारुसजस्ता प्रमुख मुलुकहरू पर्छन्। पर्यटन र आर्थिक पुनरुत्थानलाई तीव्र बनाउन यो कदम चालिएको श्रीलङ्का सरकारको दाबी छ।


परराष्ट्र तथा पर्यटन मन्त्री विजीथा हेरेथले कोलम्बोस्थित बान्दरानायके अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित “होटल प्रदर्शनी २०२५” उद्घाटन समारोहमा बोल्दै मन्त्रिपरिषद्ले उक्त निर्णय पारित गरिसकेको जानकारी दिए। यस सम्बन्धी सरकारी सूचना छिट्टै सार्वजनिक गरिने उनले बताए।

सरकारका अनुसार यस नीतिबाट करिब ६६ करोड अमेरिकी डलर बराबरको वार्षिक भिसा शुल्क घाटा हुने अनुमान छ। तर बढ्ने पर्यटक आगमन र त्यसबाट हुने आर्थिक गतिविधिले घाटा पूर्ति गर्ने विश्वास गरिएको छ। श्रीलङ्काले २०२५ भित्र २५ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।


यसअघि २०२३ सालदेखि चीन, भारत, जापानसहित ७ मुलुकलाई मात्र भिसा शुल्क छुट दिने परीक्षण नीति लागू गरिएको थियो। त्यसको सफलतामा आधारित रहँदै यो दायरालाई थप ४० मुलुकमा विस्तार गरिएको हो।

कोरोना महामारी र २०२२ को आर्थिक सङ्कटले श्रीलङ्काको पर्यटन क्षेत्रमा ठूलो असर पारेको थियो। महामारीअघि पर्यटनले देशको कुल गार्हस्थ उत्पादनमा करिब १२ प्रतिशत योगदान दिंदै लाखौँ रोजगारी सिर्जना गरेको थियो। सरकारका अनुसार २०२४ को पहिलो छ महिनामा पर्यटक आगमन करिब २० लाख पुगेको छ, जसबाट १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको आम्दानी भएको छ।

पर्यटन विस्तार र सहज भिसा नीति लागू गरेर विदेशी मुद्रा आम्दानी बढाउने, ग्रामीण पर्यटनलाई सक्रिय बनाउने र रोजगारी सिर्जना गर्ने सरकारको अपेक्षा छ।


मन्त्री हेरेथका अनुसार यस कदमले श्रीलङ्काको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधतालाई विश्वभर प्रचार गर्ने मात्र नभई, अन्तरसांस्कृतिक सम्बन्धलाई पनि मजबुत बनाउनेछ। तर यो नीतिसँगै दीगो पर्यटन अभ्यासलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवाज उठाइएको छ।


प्रतिक्रिया