✒️सुनिल उलक
काठमाडौं ,माघ १०-१९९७ साल माघ ९ गते बिहीबार राती १२ बजे, पचली (टेकु)को ठूलो खरीको रुखमा झुन्ड्याईएको थियो । भनिन्छ त्यस रात नरशमशेर, हरि शमशेर, रंगबिक्रम, जेलर खड्ग बहादुर सुनुवार र अरु सिपाहीहरु शुक्रराज शास्त्रीलाई मृत्यु दण्ड दिन खरीको रुख नजिकै पुगेका थिए । रुखमा फाँसीको लागी डोरी दिउँसै बाँधिएको थियो | यसैबेला भोज खाएर एक हुल मानिसहरु त्यही बाटो आउँदा विद्रोही जनता आक्रमण गर्न आएको सोचेर तिनीहरु त्यहाँबाट भागेका थिए, तर शुक्रराज भने भागेनन् । पछि नरशम्शेर तथा अन्य सिपाहीहरु फर्केर आएपछि शुक्रराज शास्त्रीले तिमीहरु जस्ता डरपोक म होईन भन्दै आफैले आफ्नो गलामा डोरी छिराएर प्राण त्याग गरेका थिए ।
भोलीपल्ट बिहान बागमती नुहाउन गएकाहरुले झुन्डिएको लाश र छातीमा झुन्ड्याईएको बोर्डमा लेखिएको "भर्खर शिक्षा पाएका नवयुवालाई भड्काएर देशमा बिद्रोह फैलाउने र राजकाजमा समेत चलेको हुनाले यस्तो सजायँ भयो" भन्ने पढे पछि तीनै शहरमा हल्ला फैलियो । लाश उठाउन कसैले आँट्न सकेनन् । सबैले टाढैबाट श्रद्धाञ्जली दिए । राती दाजु अमरराजका छोरा अर्थात शहीद शुक्रराजका भतिजाहरु प्रयागराज र भानुराजलाई पुलिसले लाश उठाउन लगाए । केवल दश वर्षका बालक भानुराजलाई सरिक गराईयो । राणाको निरंकुश कानुनले दश वर्षिय बालकलाई केही नगर्ला भन्ने मनसायले यस्तो गराईएको थियो । जाडोको रात कठिन संग दाहसंस्कार गरेर फर्केकाहरुलाई बिहानै पुलिसले घेराउ गरे । सानो बालकलाई कारबाही गरिएन तर ठूलो प्रयागराजलाई झुन्डिएर मरेकोलाई दागबत्ती दिएको आरोपमा पतिया लिन लगाए ।
शहीद शुक्रराज थरले जोशी हुनुहुन्थ्यो । बि.सं. १९५० को गुँपुन्हीका दिन पिता माधवराज जोशी तथा माता रत्नमाया जोशीका माहिला सुपुत्रका रुपमा जन्मनु भएको थियो । बुबा माधवराज आर्यसमाजी हुनुभएको हुँदा वहाँमा पनि आर्यसमाजको चाख अत्यधिक थियो । ललितपुर खेल टोलका जोशी भएका हुँदा जनै लगाउनेमा पर्नुहुन्थ्यो । समाज सुधारमा लागेका शुक्रराज अध्ययन पछि शास्त्री भएका थिए । वहाँले हालको पाकिस्तानमा रहेको लाहोर युनिवर्सिटीबाट संस्कृतमा शास्त्री गर्नुभएको थियो । शास्त्री पुरा भए पछि वहाँ केही समय इलाहावादको दयानन्द आर्यसमाजी विद्यालयमा प्रधानाध्यापकका रुपमा रहनु भएको थियो । वहाँले पछि पञ्जाव विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातक पनि गर्नुभएको थियो । पढाइ पुरा भएपछि वहाँ नेपाल फर्कनुभयो ।
वहाँ शहीद धर्मभक्तका बहिनी जुवाइ हुनुहुन्छ । वहाँको विवाह धर्मभक्तका बहिनी मेनकादेवी माथेमासंग भएको थियो ।
नेपाल फर्किए पछि पनि वहाँ बिभिन्न सामाजिक कार्यका रुपमा राणा विरोधी अभियानमा लाग्नुभयो । यस्तैमा बि.सं. १९९५ मंसिर १३ गते वंग अर्थात इन्द्रचोकमा मन्दिर बाहिरको पेटीमा बसेर गीताको पाठ नेपाली भाषामा सार भनि रहेका समयमा राणाशासकले भनेका कुरा अनुशरण नगर्न भनेका थिए । यहिँ निँहुमा तत्कालिन श्री ३ जुद्धशमशेरले जेल हाले । जेल मै उनको दोष सावित गराइ ३ वर्ष कैदको सजायँ सुनाइयो । पछि पून आठवटा मुद्दामा फसाएर बि.सं. १९९७ माघ ६ गते दिउँसो सर्वश्वसहित फाँसीको सजायँ सुनाइयो ।
हुन त शहीद शुक्रराजबाट केही पुस्तकहरु लेखिएको पाइन्छ ।
पहिलो पुस्तक बि.सं. १९६६ मा बाल शिक्षाका लागि नेपालभाषा रीडर नं १-२ पनि प्रकाशित भएको थियो । यस पुस्तकमा पहिलो रीडर नं १ मा १२ वटा पाठहरु रहेका छन् भने दोश्रो रीडर नं २ मा १४ वटा पाठ रहेका छन् । जसमा पहिलो पाठका रुपमा रहेको "शहीद शुक्रराज", चाैथो पाठमा रहेको "झी जुजु व थाै या नेपाल" तथा पाँचाै पाठमा राखिएको "श्री ५ या महावाणी" भने पछि थपिएको थियो शहीद शुक्रराजको शहादत पछि थपिएको हो ।
दोश्रो पुस्तक "नेपालभाषा - ब्याकरण" रहेको छ । नेपाल सम्वत १०४८ विजयादशमी अर्थात बि.सं. १९७१ को विजयादशमीमा प्रकाशित गरिँदा श्री ३ चन्द्रशमशेरको शासनकाल रहेको थियो ।
तेश्रो पुस्तक बि.सं. १९८५ मा "नित्यकर्म विधिः" मा "अग्निहोत्रम" लेखिएको छ । जसमा प्रतिदिन होम गर्ने विधि र वेद मन्त्रको गोर्खा भाषामा संक्षिप्त ब्याख्या राखिएको छ । केवल २५ पृष्ठ रहेको यो पुस्तकको अन्त भने शान्तिपाठबाट गरिएको छ ।
मेरो संग्रहमा रहेको दुर्लभ कृति "स्वर्गको दरवार" अमर सहिद शुक्रराज शास्त्रीद्वारा लिखित तथा बि.सं. १९८६ मा प्रकाशित भएको थियो । यो पुस्तक त्यतिबेलाका राणा प्रधानमन्त्री भीमशम्शेरलाई समर्पित गरिएको थियो ।
महान शहीद शुक्रराज शास्त्रीबाट शास्त्री उपाधि पाउनु हुँदाको तस्विर र साथमा वहाँले लेख्नुभएका दुइ पुस्तकहरु ।
शहीद शुक्रराज शास्त्री प्रति हार्दिक श्रद्धाञ्जली ।