काठमाडौं ,असोज १४- कुछी भ्वय नेपाल भाषाको शब्द हो । नेपाल भाषामा कुछी भन्नाले दुई माना हो भन्ने भ्वय भन्नाले भोज हो । सम्भवत दुई माना चिउरा खाने भएकोले कुछी भ्वय भनेतापनि यो कुछें भ्वयबाट अप्रभंस भएर बनेको शब्द हुन सक्दछ । कुछें भन्नाले कुल घर भन्ने अर्थ लाग्दछ भने भ्वय भन्नाले भोज हो । यसरी कामकाजका लागि यत्रतत्र छरेर बसेका परिवारजनहरु यसदिन आफ्नो कुलघरमा आएर आफ्नो परिवारजनका साथ भोज खाने गर्दछ । यसै भोजलाई कुछें भ्वय भनिन्छ । मानिसहरुले सबै कुराहरु बिर्सिए पनि आफ्नो कुल, पुर्खा र पुर्खाले गरेर आएका संस्कार कहिले पनि बिर्सिनु हुन्न । हाम्रा पुर्खा बाँदर हो भने कुरा बैज्ञानिकहरुले नै पुष्ठि गरि सकेको छ । यसै बाँदरबाट सभ्यताहरु सिक्दै आजको सभ्य मानिसहरुको जन्म भएको हो । हाम्रा पुस्ताहरुले पहिले पहिले केराको पाटमा खान्थे । यहि कुराको सम्झना स्वरुप कुछी भ्वय पनि केराको पाटमा खाने गर्दछ । केराको पाटमा दुई माना चिउराका साथ फर्सीको टुक्रा, गुन्द्रुक, हरियो साग, केराउको (कंस) अचार, मासु, भुटन आदि राखेर कुछी भ्वय खाने गरिन्छ । कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ । यस बाहेक हाल मासुका परिकार, गेडागुडीका परिकार, तरकारीका परिकार राखेर खाने गरिन्छ । आफुहरुले खाने ठूलो भोज जस्तै बाह्र टुक्रा ससानो भोज राखी पुजा गरि ढिकुटीमा राखिन्छ । यो भोज खान अगि खें सगं (अन्डा सगुन) लिनु पर्दछ । जसको लागि स्वंमा (जाँड राख्ने भाडो) मा माछा र अन्डाको टुक्रा खसाएर प्रत्येक परिवारका सदस्यको कुछी भ्वयको अगाडि रहेको कचौरामा खन्याइन्छ । जस्को कचौरामा माछा वा अन्डा पर्छ त्यो भाग्यमानी कहलिन्छ । यसरी कचौरामा जाँड राखिसके पछि घरको सबै भन्दा जेष्ठ महिलाद्वारा एक हातले जाँडको कचौरा र अर्को हातले बारा, अन्डा, माछा, मासु लिएर सगं (सगुन) दिने गर्दछ । दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको एक थरीको भनाइ रहेको छ भने अर्को थरी संस्कृतकर्मीको कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय भएको तर पछि अपभ्रंश भएर कुछी भ्वय हुन गएको भनाइ छ । नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ । त्यस्तै नयाँ बुहारी ल्याएको घरमा दाजुभाईलाई विवाह भोज (ग्वयसा भ्वय) खुवाएको छैन भने ती नयाँ बुहारीलाई सो भोजमा सहभागी नगराउने प्रचलन समेत रहेको छ ।
लेख: GR Ranjit