बुर्किना फासोमा सैन्य सरकारद्वारा सबै राजनीतिक दल विघटन!

sidhasamachar.com


उआगाडुगु, बुर्किना फासो – पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोको सैन्य सरकारले देशका सम्पूर्ण राजनीतिक दलहरू विघटन गर्दै सबै प्रकारका राजनीतिक गतिविधिमा पूर्ण प्रतिबन्ध लगाएको छ। सशस्त्र बलका प्रमुख तथा अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरेको प्रत्यक्ष निर्देशनमा मन्त्रिपरिषद् बैठकमार्फत यो कठोर निर्णय गरिएको हो।

सरकारी आदेशअनुसार विघटित दलहरूको सम्पूर्ण चल–अचल सम्पत्ति अब राज्यको स्वामित्वमा हस्तान्तरण गरिनेछ। साथै राजनीतिक दल दर्ता, पार्टी कोष सञ्चालन, विपक्षी दलको नेताको पद र पार्टीसम्बन्धी कानुनी संरचनासमेत खारेज गर्ने गरी नयाँ विधेयक अघि बढाइएको सरकारका प्रवक्ताले बताएका छन्। गृहमन्त्री एमिल जर्बोले अत्यधिक दल संख्याले नागरिकबीच विभाजन बढाएको, भ्रष्ट अभ्यासलाई प्रोत्साहन गरेको र सामाजिक संरचना कमजोर बनाएको दाबी गर्दै यस कदमलाई “राष्ट्र पुनर्गठन प्रक्रिया” को हिस्सा भएको बताएका छन्।

यसअघि सन् २०२२ को सेप्टेम्बरमा भएको सैनिक ‘कू’ पछि राजनीतिक दलहरूलाई सार्वजनिक कार्यक्रम गर्न मात्र रोक लगाइएको थियो। तर नयाँ आदेशपछि दलहरूको आन्तरिक बैठक, संगठन विस्तार र सबै प्रकारका गतिविधिमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। कू अघि देशमा १०० भन्दा बढी दर्ता भएका राजनीतिक दलहरू सक्रिय थिए।

बुर्किना फासो लामो समयदेखि अल–कायदा र इस्लामिक स्टेटसँग सम्बन्धित जिहादी समूहहरूको हिंसात्मक विद्रोहबाट प्रभावित हुँदै आएको छ। उत्तरी र पूर्वी क्षेत्रमा सक्रिय यी समूहका कारण हजारौँ मानिसको मृत्यु भइसकेको छ भने लाखौँ विस्थापित भएका छन्। यही सुरक्षा संकट र अघिल्लो सरकारहरूको असफलतालाई आधार बनाउँदै सन् २०२२ को सेप्टेम्बरमा ३४ वर्षीय सैन्य अधिकारी इब्राहिम ट्राओरेले तत्कालीन सैन्य शासक पल हेनरी सान्डाओगो डामिबालाई विस्थापित गर्दै सत्ता कब्जा गरेका थिए।

अन्तर्राष्ट्रिय मानवअधिकार संस्था, संयुक्त राष्ट्र निकाय र पश्चिमी कूटनीतिक वृत्तले यो कदमले नागरिक स्वतन्त्रता, राजनीतिक बहुलवाद र लोकतान्त्रिक संक्रमण प्रक्रियामा गम्भीर धक्का पुग्ने चेतावनी दिएका छन्। विश्लेषकहरूका अनुसार सैन्य प्रमुख ट्राओरेको हातमा सत्ता थप केन्द्रीकृत हुँदै जाँदा बुर्किना फासोको लोकतान्त्रिक भविष्य अझै अनिश्चित बन्दै गएको छ।

प्रतिक्रिया