काठमाडौं ,श्रावण २४– नेवा: समुदायमा आज क्वाटी पुन्ही पर्व धुमधामका साथ मनाइँदैछ भने अन्य हिन्दू समुदायमा जनैपूर्णिमा पर्व उल्लासपूर्वक मनाइएको छ। राजधानी काठमाडौं, भक्तपुर, ललितपुरसहित देशका विभिन्न स्थानमा बिहानैदेखि पूजा–अर्चना, स्नान र धार्मिक अनुष्ठानको चहलपहल छ।
नेवा: समुदायमा क्वाटी पुन्हीलाई वर्षा ऋतुमा शरीरलाई तन्दुरुस्त राख्ने र रोगप्रतिरोधात्मक क्षमता बढाउने पर्वका रूपमा लिइन्छ। यस दिन सिमी, मस्याङ, चना, केराउ, मटर, बोडी, भटमास, मुकुना र गहत गरी नौ प्रकारका अन्न मिसाएर बनाइने ‘क्वाटी’ खाने परम्परा छ। यस परिकारलाई पोषणयुक्त मात्र नभई मौसमी रोगको जोखिम घटाउने प्राकृतिक औषधि मानिन्छ।
यसैदिन ब्राह्मण तथा क्षत्रिय समुदायमा पुरानो जनै फेर्ने चलन छ। बिहान नजिकैको नदी, पोखरी वा तीर्थमा स्नान गरी वैदिक मन्त्रसहित नयाँ जनै लगाइन्छ। दिदीबहिनीहरूले दाजुभाइको हातमा रक्षा डोरो बाँधेर दीर्घायु र समृद्धिको कामना गर्ने परम्परा रहँदै आएको छ।
त्यसैगरी आजै ललितपुरको ऐतिहासिक कुम्भेस्वर मन्दिर परिसरमा आज विशेष मेला लागेको छ। १००८ धाराको कुन्डमा स्नान गर्दा गोसाइँकुण्डमा स्नान गरेबराबरको पुण्य प्राप्त हुने विश्वासका कारण भक्तजन बिहानैदेखि लामबद्ध छन्। कथा अनुसार त्रेतायुगमा भगवान् शिवले यहाँ त्रिशूल प्रहार गरी जलस्रोत प्रकट गरिदिएका थिए। मेलामा धार्मिक अनुष्ठानसँगै नेवार परिकार, पूजा सामग्री र हस्तकलाका स्टलहरू राखिएका छन् भने बाजागाजा र नाचगानले वातावरण उत्सवमय बनेको छ।
संस्कृतिविद्हरूका अनुसार क्वाटी पुन्ही र जनैपूर्णिमा पर्वले स्वास्थ्य, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचान मजबुत पार्छन् भने पाटनको कुम्भेस्वर मेला धार्मिक मात्र नभई सामाजिक सद्भाव र सांस्कृतिक आदानप्रदानको प्रतीक हो।
---