🖊️जि आर रन्जित
काठमाडौं ,मंसिर ११-नेवा बस्तीको बिशेषता भनु नै उक्त स्थानमा भीमसेनको मन्दिर हुनु हो । भीमसेन मन्दिर लगायत, कुमारी, तलेजु, लाखे पनि नेवा बस्तीका बिशेषताहरु हुन । भीमसेनलाई ब्यापारको देवताको रुपमा पुजिन्छ । व्यापार ब्यबसाय बढाउनाका लागि भिमसेनको पूजा आराधना गरिन्छ । भीमसेनलाई नेपाल भाषामा भिंद्य: भनिन्छ । जसको अर्थ सबैको कल्याण गर्ने देवता हो । किंवदन्ती अनुसार 'मछिन्द्रनाथले पाटनलाई समृद्ध बनाउने जिम्मा पाएका हुन्छन्। लोकनाथ र करुणामयका रुपमा रहेका मछिन्द्रनाथले मानिसहरुलाई पाटन समृद्ध बनाउने काम बाँडफाँट गर्छन्। यो कुरा भीमसेनले थाहा पाएछन्। आफूलाई वस्ता नगरेको भन्दै भीमसेन क्रद्ध भए। त्यसपछि भीमसेनले मछिन्द्रनाथलाई भेटेर आफूले एकको तीन गर्न सक्ने शक्ति छ भनेर भने पश्चात् मच्छिन्द्रनाथले भीमसेनलाई पनि पाटन समृद्ध बनाउनमा सहभागी गराए।' यसरी एकको तीन बनाउने भीमसेनको पूजा आराधना गर्दा राम्रो हुँदै गएको व्यापार फस्टाएकोले व्यापारीहरुले भीमसेनलाई आराध्य देव मान्न थाले ।
नेपालमा मुर्त र अमुर्त गरि दुई प्रकारका भीमसेनको मुर्तीहरु रहेका छन । अमुर्त भन्नाले शिला मात्रा राखेर भीमसेनको स्थापना गरिएको हो भने मुर्त रुप भन्नाले मुर्ती कुंदेर भीमसेनको मुर्ती स्थापना गरिएको हो । शिला भीमसेन प्राय पश्चिमभिमुख हुन्छन भने मुर्त भीमसेन प्राय पूर्वभिमुख हुन्छन । यस्ता मुर्त भीनसेन नेपालका प्राय नेवा बस्तीहरुमा स्थापना गरिएको पाइन्छ । ती सबै मुर्तीहरु पुराना भएपनि अभिलेखको आधारमा भक्तपुरको लुँ बहि अर्थात सुवर्ण महाविहारमा रहेको भीमसेन अहिले सम्म पाएको मुर्त भीमसेनहरुमा सबैभन्दा पुरानो भीमसेनको रुपमा लिइन्छ । नेपाल सम्बत ७१२ मा स्थापित यस भीमसेन पुर्ण रुपले सुनको जलप लगाई बनाएको कारण यस विहारलाई सुवर्ण महाविहार भनिन्छ भने यसलाई भीमसेन बहि पनि भन्ने गरिन्छ ।