काठमाडौं, साउन १३ – आज देशभरका थारु समुदायले विशेष श्रद्धा र उत्साहका साथ गुरही पर्व मनाउँदै छन्। विशेष गरी काठमाडौंमा बसोबास गर्ने थारु समुदायदेखि पश्चिम तराईका गाउँहरुसम्म यस पर्वलाई भव्य रूपमा मनाइँदैछ।
गुरही पर्व थारु समुदायको मौलिक तथा सांस्कृतिक पहिचान झल्काउने महत्वपूर्ण पर्व हो। यस दिन थारु समुदायका घरघरमा विशेष पूजाआजा गर्दै बनस्पतिहरूलाई गाभेर बनाइने गुरहीलाई देवताका रूपमा पूजिन्छ। यस पर्वमा परिवार र समुदायबीच भेटघाट, परम्परागत नाचगान तथा भेषभूषामा सजिने प्रचलन छ।
गुरही बालबालिकासँग सम्बन्धित रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन् । यो पर्वमा कपडाको गुरहा (गाइने किरा) बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ । बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन् ।
थारु संस्कृतिमा गुरही पर्वले कृषि, प्रकृति र देवप्रतिको आस्था प्रकट गर्ने अवसर प्रदान गर्ने विश्वास गरिन्छ। यसले समुदायबीच एकता र सहकार्यलाई अझ सुदृढ बनाउने थारु बृद्धबृद्धाको भनाइ छ।
सहरदेखि गाउँसम्म आज थारु समुदायको घर आँगनमा गुरही पर्वको उल्लास छाएको छ।