फ्रान्सको प्रशिक्षण जिम्मेवारी छाड्ने डेसच्याम्प्सको घोषणा

काठमाडौं । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले सन् २०२६ को फिफा विश्वकपपछि टोलीको जिम्मेवारी छाड्ने घोषणा गरेका छन् । 

उनले बिहीबार विश्वकपको आगामी संस्करणपछि फ्रान्सको जिम्मेवारी छाड्ने घोषणा गरेका हुन् । तर, फ्रान्स अझैसम्म विश्वकपको आगामी संस्करणका निम्ति छनोट भने भइसकेको छैन ।

पछिल्लो समय फ्रान्सको मुख्य प्रशिक्षकमा जिनेदिन जिदान आउने चर्चा उच्च छ । फ्रान्स फुटबल फेडेरेसनले पनि डेसच्याम्प्सले जिम्मेवारी छोड्ने बताएको तर अहिले नै उनको स्थानमा को आउँछन् भन्नु हतार हुने जनाएको छ । डेसच्याम्प्स फ्रान्सेली टिमबाट सबैभन्दा लामो समयसम्म प्रशिक्षण जिम्मेवारी सम्हाल्ने प्रशिक्षकसमेत हुन् ।

“सन् २०२६ मा यो समाप्त हुनेछ । मेरो मस्तिष्कमा यो कुरा स्पष्ट छ । मैले फ्रान्सलाई सधैँ उच्चस्तरमा राख्ने लगाब र चाहनाअनुसार आफ्नो काम गरे,” डेसच्याम्प्सले भने ।

सन् १९९८ मा फ्रान्सले विश्वकपको उपाधि जित्दा डेसच्याम्प्स टिमका महत्त्वपूर्ण सदस्य थिए । खेलाडीको रूपमा विश्वकप जितेका डेसच्याम्प्सले सन् २०१८ मा प्रशिक्षकको रूपमा फ्रान्सलाई विश्वकप जिताएका थिए । उनी सन् २०१२ मा फ्रान्सको जिम्मेवारीमा आएका थिए ।

प्रतिक्रिया