काठमाडौं। निर्वाचन आयोग, नेपाल ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को प्रचारप्रसारका क्रममा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेको छ।
आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै केही दल वा उम्मेदवारले प्रचारप्रसारका क्रममा काठ, फलाम, प्लास्टिक लगायतका सामग्रीबाट बनेका निर्वाचन चिह्न सार्वजनिक स्थलमा राख्ने तथा प्रदर्शन गर्ने गरेको सूचनाहरू प्राप्त भएको जनाएको छ। यसरी भौतिक स्वरूपमा निर्वाचन चिह्न प्रयोग गर्दा सर्वसाधारणको आवागमनमा अवरोध पुग्ने, सुरक्षा जोखिम बढ्ने र चुनावी आचारसंहिताविपरीत गतिविधि हुन सक्ने आयोगको ठहर छ।
विज्ञप्तिमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१(१) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०७८ अनुसार दल तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने व्यवस्था स्पष्ट रहेको उल्लेख छ। सो व्यवस्थाअनुसार दललाई प्रदान गरिएको चिह्न र स्वतन्त्र उम्मेदवारलाई तोकिएको चिह्न आयोगले निर्धारण गरेअनुसार मात्र प्रयोग गर्न पाइनेछ।
आयोगले निर्वाचन आचारसंहिता, २०७८ को दफा १३ को खण्ड (ड) अनुसार निर्वाचन प्रचारप्रसार गर्दा तोकिएको मापदण्ड पालना गर्नुपर्ने प्रावधान स्मरण गराएको छ। प्रचार सामग्री कपडा, कागज वा स्वीकृत माध्यमबाट मात्र प्रयोग गर्न पाइने र सार्वजनिक स्थलमा अव्यवस्थित ढंगले भौतिक संरचना निर्माण गर्न नपाइने स्पष्ट गरिएको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा आचारसंहिताविपरीत कार्य भएमा कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ। साथै, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई जिम्मेवार र संयमित बन्न आग्रह गरिएको छ।
आयोगले निर्वाचनको वातावरण शान्त, सुरक्षित र व्यवस्थित राख्न सहयोग पुर्याउन आम मतदातालाई समेत अपिल गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा प्रचारप्रसारका गतिविधि तीव्र भइरहेका बेला आयोगको यो निर्देशनले चुनावी अभियानलाई मर्यादित र नियमसम्मत बनाउने अपेक्षा गरिएको छ।