नेपाल २०२६ को टी–२० विश्वकपमा प्रवेश, अोमनलाई ३८ रनले हराउँदै ऐतिहासिक जित

sidhasamachar.com


काठमाडौं ,असोज ३० – नेपाली क्रिकेट टोलीले अोमनलाई ३८ रनले पराजित गर्दै सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपका लागि स्थान सुनिश्चित गरेको छ। यस जितसँगै नेपाल दोस्रो पटक विश्वकप खेल्ने राष्ट्र बनेको छ।

हिजो सम्पन्न एसिया क्वालिफायरको निर्णायक खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५१ रन बनायो।

नेपालका ओपनर कुशल भुर्तेलले ५१ बलमा ६९ रनको शानदार पारी खेल्दै ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनलाई आसिफ शेखले २० बलमा २४ रन र गुलशन कुमार झाले १० बलमा १८ रनको योगदान दिए।

अोमनका बलरमध्ये नदीम खानले ४ ओभरमा २० रन दिँदै ४ विकेट लिए भने जितेनकुमार रमनन्दी र सुफ्यान मेहमुदले समान २–२ विकेट झारे।

१५२ रनको लक्ष्य पछ्याउने क्रममा अोमनले निर्धारित २० ओभर पुरा गरे पनि ९ विकेटको क्षतिमा ११३ रन मात्रै बनाउन सक्यो। अोमनका लागि विनायक शुक्लाले १९ बलमा ३२ रन र मोहम्मद नदीमले ३१ बलमा २५ रन बनाए।

नेपालका बलरमध्ये गुलशन कुमार झाले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए। नन्दन यादवले २/१९, सोम्पाल कामीले २/२५ र करण केसीले किफायती बलिङ गर्दै अोमनका ब्याट्सम्यानहरूलाई दबाबमा राखे।

यो जितसँगै नेपालले एसिया क्वालिफायरको शीर्ष दुई स्थानमा रहेर २०२६ को टी–२० विश्वकपमा आफ्नो सहभागिता सुनिश्चित गरेको हो। यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा पहिलो पटक विश्वकप खेलेको थियो।

खेलपछि कप्तान रोहित पौडेलले भने, “यो जित सम्पूर्ण नेपाली जनताको जित हो। हाम्रो लक्ष्य विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने हो।”

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पनि सामाजिक सञ्जालमार्फत टोलीलाई बधाई दिँदै भने, “नेपाल क्रिकेटको नयाँ अध्याय सुरु भएको छ। यो गौरवको क्षण हो।”

अब नेपालले २०२६ को विश्वकपमा भारत र श्रीलंकामा हुने मुख्य चरणमा विश्वका शीर्ष राष्ट्रहरूसँग भिड्नेछ।


प्रतिक्रिया