‘
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित तथा वरिष्ठ कलाकार सुनिल थापा, जसलाई ‘राते काइँला’ को नामले दर्शकमाझ व्यापक चिनिन्थ्यो, उहाँको हृदयघातका कारण निधन भएको छ। शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि थापालाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो। उपचारका क्रममा उहाँको निधन भएको नेपाल चलचित्र कलाकार संघले पुष्टि गरेको छ।
कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार शंखमुलस्थित आफ्नै अपार्टमेन्टमा रहँदै आएका थापा गएराति अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएका थिए। चिकित्सकका अनुसार हृदयघातका कारण उहाँको निधन भएको हो।
६८ वर्षीय थापा लामो समयदेखि नेपाली चलचित्र उद्योगमा मात्र नभई भारतीय चलचित्र क्षेत्रमा पनि सक्रिय रहनुभएको थियो। विशेषगरी खलनायक तथा दमदार चरित्र भूमिकाबाट उहाँ दर्शकमाझ लोकप्रिय हुनुहुन्थ्यो। ‘राते काइँला’ पात्रका कारण उहाँको छुट्टै पहिचान बनेको थियो।
उहाँले नेपाली फिल्म उद्योगमा थुप्रै सुपरहिट चलचित्रहरूमा अभिनय गर्नुभएको थियो भने बलिउडका केही चलचित्रहरूमा समेत काम गरेर अन्तर्राष्ट्रिय पहिचानसमेत बनाउनु भएको थियो। उहाँको अभिनय शैली, संवाद प्रस्तुति र चरित्र निर्वाह गर्ने क्षमताले नेपाली सिने जगतमा विशेष स्थान बनाएको थियो।
थापाको निधनप्रति चलचित्रकर्मी, कलाकार, शुभेच्छुक तथा दर्शकहरूले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरिरहेका छन्। कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ लगायत अन्य थुप्रै कलाकारहरूले उहाँको निधनलाई नेपाली चलचित्र क्षेत्रका लागि अपूरणीय क्षति भएको बताएका छन्।
थापाको परिवार हाल भारतको मुम्बईमा रहेकाले परिवारका सदस्यहरू काठमाडौं आइपुगेपछि अन्त्येष्टि लगायतका थप प्रक्रिया तय गरिने कलाकार संघले जनाएको छ। नेपाली चलचित्र क्षेत्रका एक सशक्त र अनुभवी कलाकारको निधनले सम्पूर्ण कला जगत शोकमा डुबेको छ।